रवि रोषी
चितवन- पूजा बचत तथा ऋण सहकारी संस्थाले गामबेँसीको चेपाङ संरक्षण केन्द्रलाई खाद्यान्न सहयोग प्रदान गरेको छ ।

केन्द्रका अध्यक्ष केपि किरण शर्माको प्रमुख आतिथ्यतामा आयोजित सो सहयोग हस्तान्तरण कार्यक्रम पूजा बचत तथा ऋण सहकारी संस्था लि।का अध्यक्ष सदानन्द उपाध्यायको अध्यक्षतामा सम्पन्न भएको थियो ।

२०७६ सालमा स्थापित उक्त सहकारीले केन्द्रमा आश्रित सीमान्तकृत चेपाङ बालबालिकालाई १२ बोरा चामल, दाल, तेल, नुन, साबुन, टुथपेष्ट, बेसार, चिउरालगायतका दैनिक उपभोग्य सामग्री हस्तान्तरण गरेको हो ।

यसअघि पनि उक्त सहकारीले चितवनका विभिन्न शैक्षिक प्रतिष्ठानहरुमा अति विपन्न विद्यार्थीहरुलाई विभिन्न शैक्षिक स्टेशनरी सामग्रीलगायतका आवश्यक सामग्रीहरु प्रदान गर्दै आएको अध्यक्ष उपाध्यायले बताए ।

नाफामूलक उद्देश्यले सञ्चालनमा ल्याइएको संस्था भए पनि लाभांशको केही प्रतिशत अतिविपन्न वर्गका समुदायको हितमा लगानी गर्नु संस्थाको प्रमुख अभियान भएको हुनाले स्थापनाकालदेखि नै सामाजिक कर्ममा लागेको उनले बताए । यसका साथै उक्त संस्थाले बाढीपीडित तथा भूकम्पपीडितहरुलाई पनि सहयोग गर्दै आएको उनले बताए ।

केन्द्रका अध्यक्ष केपिकिरण शर्माले केन्द्रमा स्वस्फूर्त सेवाभावका साथ सहयोग गर्न आएका संस्थाका सम्पूर्ण परिवारप्रति आभार प्रकट गर्दै यसैगरी आगामी समयमा सहयोगको अपेक्षाका हिसाबले मात्र नभई अभिभावकको हिसाबले अभियानलाई खबरदारीका साथै सल्लाह सुझाव दिन आइदिनको लागि आग्रह गरे ।

तपाईको प्रतिक्रिया