
काठमाडौँ- चीनको बुहान सहरबाट सुरु भएको कोरोना भाइरसको संक्रमण अहिले युरोप र मध्यपूर्वसम्म देखिएपछि विश्वभर कोरोनाभाइरसको त्रास निकै बढेको छ ।
भाइरस फैलिएकै देश चीनसँग सीमानाका जोडिएको नेपालमा भने अहिलेसम्म कुनै प्रकारको पूर्वसतर्कता र तयारी गरिएकको छैन । जबकि विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले नेपाललाई उच्च जोखिममा राखे पनि अनिमात्रै नेपाल सरकारलाई तातो लागेको हो ।
प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीहरुको बैठक बोलाएर कोरोना संक्रमण भित्रिन नदिन परामर्श थालेका छन् । सरकारले पूर्वतयारी गर्न उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको नेतृत्वमा उच्चस्तरीय समन्वय समिति गठन गरेको छ ।
गृह, पर्यटन, स्वास्थ्य, अर्थ, शिक्षालगायतका मन्त्रीसमेत रहेको यो समितिले नेपालसँग हवाईसहित यातायात सञ्जालले जोडिएका देशहरुको गतिविधिलाई नजिकबाट हेर्नेछ र रोकथामका लागि आवश्यक निर्णय गर्नेछ ।
बैठकमा कोरोना भाइरसको संक्रामण फैलिएका देशबाट उडान आजतजावत तथा रोक्ने विषयमा समेत छलफल भएको थियो ।
प्रधानमन्त्रीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हरेक यात्रुको चेकजाँच गर्न, चेकजाँचको उपकरण र औषधिहरु पर्याप्त भण्डारण गर्न र चिकित्सकहरुलाई परिचालन गर्न निर्देशनसमेत दिएका छन् ।