काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार मिर्गौला प्रत्यारोपण गर्ने भएका छन् । आइतबार बसेको नेकपा सचिवालय बैठकमा प्रधानमन्त्री ओलीले सो कुराको जानकारी दिएको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए ।
नेकपा अध्यक्ष रहेका ओलीको शिक्षण अस्पताल महाराजगन्जमा मिर्गौला प्रत्यारोपण गरिने भएको हो । त्यसका लागि उनी सोमबारदेखि अस्पताल भर्ना हुनेछन् । ओलीले नियमित स्वास्थ्य परीक्षण त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा गर्दै आएका छन् ।
प्रधानमन्त्री ओलीको १३ वर्षअघि दिल्लीको एपोलो अस्पतालमा मिर्गौला प्रत्यारोपण गरिएको थियो । ६ वर्षअघि उनको हातमा पनि संक्रमण भएको थियो । दिल्ली र थाइल्याण्डमा लामो उपचार गरी स्वास्थ्य लाभ लिइरहेका उनी नियमित फलोअपमा थाइल्याण्ड जाने गरेका थिए ।
पछिल्लो समय प्रत्यारोपण् गरिएको मिर्गौलाले काम गर्न छोडेपछि उनको नियमित डायलासिस गर्न थालिएको थियो । शिक्षण अस्पतालमा उनको दोस्रोपटक मिर्गौला प्रत्यारोपण गर्ने तय भएसँगै आफन्त नजिकका नातिनीको मिर्गौला म्याच भए पनि नातिनीबारे केही खुलाइएको छैन ।
ओलीलाई मिर्गौला दिन धेरै शुभेच्छुकले इच्छा देखाए पनि प्रधानमन्त्रीको निकटमा रहेकी नातिनीको मिर्गौला प्रत्यरोपण गर्ने भएका हुन् ।