चितवन- भरतपुरको केन्द्रीय बस टर्मिनलमा रहेको राष्ट्रिय सहकारी बोर्डको चौरमा जारी प्रथम भरतपुर सांस्कृतिक महोत्सवमा लोकदोहोरी गीत प्रतियोगिता सुरू भएको छ ।
आइतबारदेखि सुरू भएको प्रतियोगितामा जिल्लाका आठ समूहले भाग लिएका छन् । प्रतियोगिताको पहिलो दिन चार समूह सेमिफाइनलमा प्रवेश गरेका भरतपुर महोत्सवका मूल संयोजक एवम् भरतपुर बजार व्यवस्थापन समितिका अध्यक्ष श्याम पौडेलले जानकारी दिए ।
त्यस्तै, आइतबार नै सांस्कृतिक कार्यक्रमअन्तर्गत राष्ट्रिय लोक तथा दोहोरी गायक कुलेन्द्र विकले आफ्ना प्रस्तुति राखेका थिए भने सोमबार शान्तिश्री परियारले आफ्नो प्रस्तुति राख्ने आयोजकले जनाएको छ ।
महोत्सवको सांस्कृतिक कार्यक्रममा मंगलबारदेखि रत्यौली गीत प्रतियोगिता, बाल नृत्य प्रतियोगिता हुनुका साथै चर्चित ¥यापर भिटेनसहित विभिन्न कलाकारहरुको प्रस्तुति रहने बताइएको छ ।
फागुन २७ गतेसम्म सञ्चालन हुने महोत्सवमा कृषि, पर्यटन, स्थानीय उत्पादन, उद्योग तथा व्यापारिक उत्पादनलाई प्रवद्र्धन गरिएको पौडेलले जानकारी दिए । महोत्सवको आकर्षणको रुपमा बीसहजारी तालको आकृति, थारु तथा चेपाङ समुदायको सांस्कृतिक घरसहित मालिका मन्दिरको आकृति महोत्सवस्थलमा निर्माण गरिएको पौडेलको भनाइ छ ।
सो महोत्सवमा पोल्ट्री, केरा, माछा, दूधलगायतका उत्पादनलाई प्रवद्र्धन गरिएको मूल संयोजक पौडेलले बताए । महोत्सवमा अटोसम्बन्धी १० वटा, फास्टफुडका १० वटा, आइसक्रिम तथा पानीजन्य १५ वटा, फेन्सी तथा व्यापारिक, औद्योगिक उत्पादन, पर्यटन प्रवद्र्धनका साथै सामाजिक संघसंस्थाका स्टलहरुसमेत २५० भन्दा बढी स्टल रहेको महोत्सवको सचिवालय संयोजक एवम् भरतपुर बजार व्यवस्थापन समितिका सचिव बाबुराम गैरेले जानकारी दिए ।
महोत्सवको आम्दानीबाट बचेको रकममध्ये भरतपुर बसपार्कमा नेपालमै ठूलो राष्ट्रिय झण्डाको स्तम्भ निर्माण, पर्यटन प्रवद्र्धन र केही रकम निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालालाई प्रदान गर्ने लक्ष्य रहेको छ ।