काठमाडौँ- नेपाल सरकारले कोरोना सङ्क्रमणको रोक्न सातै प्रदेशमा आवश्यक सामग्रीसहित प्रदेश सरकारसँग समन्वय गरी त्यहाँ रहेका नाकाहरुमा आवश्यक निगरानीको व्यवस्था मिलाउन स्वास्थ्य टोली परिचालन गरेको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले विगत तीन महिनामा हासिल गरेका उपलब्धि सार्वजनिक गर्न आज आयोजित पत्रकार सम्मेलनमा कोरोना (कोभिड–१९) महामारी व्यवस्थापनसम्बन्धी कार्ययोजनाबारे जानकारी दिइएको हो ।

विश्वमा हाल फैलिएको कोरोना सङ्क्रमणको रोकथाम, शीघ्र पहिचान, निगरानी तथा व्यवस्थापन गर्न सहज हुने उद्देश्यले विश्व स्वास्थ्य सङ्गठनको मापदण्डअनुसार प्रोटोकल तथा कार्ययोजना तयार गरेको मन्त्रालयले जनाएको छ ।

विभिन्न निकायसँगको समन्वयमा चीनको वुहान प्रान्तमा रहेका १७५ विद्यार्थीलाई नेपाल ल्याई १४ दिन क्वारेन्टाइनमा राखिएकामा यही फागुन १७ गते अन्तिम पटकको नमूना परीक्षण गरिएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको स्वास्थ्य कक्षलाई थप जनशक्ति तथा तीनवटा इन्फ्रारेड रेडिएशन थर्मोमिटर थप गरी सबै प्रभावित मुलुकबाट नेपाल आउने यात्रुको अनिवार्य जाँच गर्ने प्रबन्ध मिलाइएको मन्त्री भानुभक्त ढकालले जानकारी दिए ।

यसैगरी कोरोना सङ्क्रमणको रोक्न तातोपानी र रसुवागढी नाकामा चिकित्सक खटाइएको छ भने कोरोना व्यवस्थापनका लागि आवश्यक सामग्रीको मौज्दात थप गरिएको उनले बताए ।

उपत्यकाका सबै अस्पतालसँग विभिन्न चरणमा पूर्व तयारीका लागि बैठक तथा छलफल गरिएको छ । यही १७ गते प्रधानमन्त्री निवासमा सम्पन्न उच्चस्तरीय बैठकबाट प्राप्त सुझावका आधारमा मन्त्रालयबाट थप योजना बनाई कार्यान्वयन गर्ने तयारी गरिएको उनले बताए ।

नीतिगत व्यवस्था तथा प्रणालीगत सुधार

मन्त्रालयले यस अवधिमा प्रदेशका सामाजिक विकास मन्त्री र सचिवहरूसँग मन्त्रिस्तरीय समीक्षा बैठक सम्पन्न गरेको, ‘स्वास्थ्य क्षेत्रमा साझेदारी निर्देशिका २०७६’ मन्त्रिपरिषद्बाट स्वीकृत भई लागू भएको, आगामी आर्थिक वर्षको बजेट तथा कार्यक्रम तयारीका लागि ‘स्वास्थ्य क्षेत्रको योजना तर्जुमा मार्ग निर्देशन २०७६’ स्वीकृत भई लागू भएको जनाएको छ ।

यसैगरी मुख्य तथा सहायक राजमार्ग नजिक अवस्थित स्वास्थ्य संस्थाहरूमा ट्रमा सेन्टर स्थापना तथा सञ्चालन गर्न एक कार्यविधिको निर्माण गरिएको, सिकलसेल एनिमियाको प्रभावकारी व्यवस्थापनका लागि ‘सिकलसेल एनिमिया परामर्श सेवा कर्नर स्थापनाको कार्यविधि’ तयार भएको मन्त्री ढकालले जानकारी दिए ।

मन्त्रालयले यस अवधिमा घरमा स्वास्थ्य सेवा प्रदान गर्ने प्रक्रियालाई व्यवस्थित गर्न ‘घरमा आधारित स्वास्थ्य सेवा मापदण्ड र कार्यविधि २०७६’ स्वीकृत भएको, सङ्घीय ‘राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका कार्यक्रम रणनीति २०६७’ लाई आवश्यक संशोधन गरी स्वीकृत भएको, ‘विद्यालय स्वास्थ्य तथा नर्सिङ सेवा कार्यक्रम सञ्चालन कार्यविधि २०७६’ स्वीकृत भएको जनाएको छ ।

तपाईको प्रतिक्रिया