पोखरा- प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले सर्वोच्च अदालतको फैसलाबमोजिम फेवातालको अधिकतम क्षेत्रफल जोगिने गरी काम गर्न आग्रह गरेका छन् ।

उच्च अदालत बार एसोसिएसन पोखराद्वारा आयोजित स्वागत कार्यक्रममा उनले तालभित्र कुनै व्यक्तिको जग्गा परेको भए पनि अधिग्रहण गरी पहिलेकै अवस्थामा ल्याउन आफूले नेपाल सरकारका मुख्यसचिवलाई सल्लाह दिएको बताए ।

ताल बचाउन केही समय पहिला सर्वोच्चले गरेको फैसला कार्यान्वयन हुनेमा आफू विश्वस्त रहेको बताउँदै उनले तालको सौन्दर्य फैसला गरेरमात्र नहुने र यसको संरक्षण सबै नागरिक तथा सरोकारवाला निकाय सक्रिय हुनुपर्ने सुझाव दिए ।

नापीका महानिर्देशकलाई खटाएर तालको वास्तविक नापी भइसकेको जानकारी दिँदै उनले फरक–फरक नापीमा समान क्षेत्रफल नआएको बताए । भारतले गरेको हवाई सर्वेक्षणमा देखिएको ताल, यहाँ देखिएको नापीको नक्साको ताल र हालको नाप समान नभए पनि अधिकतम क्षेत्रफल कायम गर्नुपर्नेमा उनले जोड दिए ।

कुनै पनि न्यायाधीशले बद्नियत, ढिलासुस्ती र अनियमितता गरेको पाइए छूट नदिइने स्पष्ट पार्दै प्रधानन्यायाधीश राणाले आफ्नो ज्ञान र विवेकलाई आत्मसात् गरी स्वाभिमानी र आत्मज्ञानी भई संविधान प्रदत्त कानुनी अधिकार प्रयोग गरी न्यायसम्पादन गर्न आग्रह गरे ।

न्यायप्रणाली सुधार गरेर लैजाने आफ्नो लक्ष्य भएकाले अदालतभित्रका कर्मचारी र न्यायाधीशका बारेमा गलत कुरा भएमा कानून व्यवसायीले पनि निर्धक्क भई बाहिर ल्याउन उनले आग्रह गरे ।

अडियो भिडियोमार्फत बहस पैरवी गर्ने प्रविधिको विकास गर्ने बताउँदै उनले प्रविधिले फड्को मारिसकेको वर्तमान अवस्थामा देशको न्यायप्रणालीलाई छिटोछरितो बनाउन प्रविधिको विकल्प नभएको उल्लेख गरे ।

तपाईको प्रतिक्रिया