चितवन- नेपाली कांग्रेसको क्रियाशील सदस्यता वितरणका लागि जिल्ला समितिले मापदण्ड तय गरेको छ ।
पुरानो तथा नयाँ क्रियाशील सदस्यका लागि बसोवास रहेको वडाबाहेकको स्थानमा नदिने भएको छ । सम्बन्धित वडाको बसोवास रहेकालाई मात्रै सोही स्थानमा क्रियाशील सदस्यता दिइने भएको छ ।
सोमबार जिल्ला सभापति जीतनारायण श्रेष्ठको अध्यक्षमा बसेको बैठकले क्रियाशील सदस्यताका लागि अनिवार्य नवीकरण गर्नुपर्ने प्रावधान बनाएको छ । कार्य समितिको बैठकले मतदाता नामावली नभएको स्थानमा सदस्यता नदिने निर्णय गरेको हो ।
बैठकबारे जानकारी गराउँदै जिल्ला सचिव उत्तम जोशीले बसोवास र घरजग्गा भएको न्यूनतम मापदण्ड तय गरेको बताए । कांग्रेसले पुरानो नवीकरण र नयाँ सदस्य वितरणमा कडाइ गर्न लागेको हो । दलित अल्पसंख्यक र पिछडिएका जातिलाई सदस्यता वितरणमा प्राथमिकतामा राखेको छ ।
पार्टी सदस्यबाट लेबी उठाउने निर्णयसमेत गरेको छ । पुरानो सदस्यका लागि नवीकरण नगरी पुनः नयाँ लिन नपाउने व्यवस्था गरेको छ ।
बैठकले नारायणगढमा रहेको बीपी नगर वनलाई भरतपुर आइसल्याण्ड सफारी भेन्चर सञ्चालनका लागि वातावरणीय प्रभाव मूल्याङ्कनको प्र्रक्रिया थालेको भन्दै विरोध गरेको छ । बीपीको नाम हटाएर नगरवनमात्रै राखिएको भन्दै त्यसलाई सच्चाउन भरतपुर महानगरपालिकासँग आग्रहसमेत गरेको छ ।
गत माघ ७ गतेको महानगरपालिकाको बैठकले नगरवनमा मनोरञ्जन पार्क निर्माणका लागि वातावरणीय प्रभाव मूल्याङ्कन गर्न सम्बन्धित मन्त्रालयमा सिफारिस गर्ने निर्णय गरेको छ । उक्त निर्णयको क्रममा बीपीको नाम नरहेको भन्दै आपत्ति जनाएको हो ।
त्यस्तै, बीपीको नाम जोडिएको वनमा कुनै छलफल नगरेको भन्दै काँग्रेसले आपत्ति जनाएको छ । बैठकले फोरम लोकतान्त्रिकसँगको एकीकरणपछि मनोनीत भएका जिल्ला, क्षेत्रका पदाधिकारी तथा सदस्यलाई समायोजन गरेको छ । उक्त बैठकले दिल्लीमा उपचाररत जिल्ला सदस्य कमला श्रेष्ठको स्वास्थ्यलाभको कामनासमेत गरेको छ ।