चितवन- भरतपुर महानगरपालिका–२९ को विकट पहाडी गाउँ जाने पात्लेबास–चौकीडाँडा सडकको आज उद्घाटन गरिएको छ । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले सडकको उद्घाटन गरेकी हुन् ।

सो अवसरमा उनले सडकले विकट गाउँका बासिन्दालाई सदरमुकाम भरतपुरसहित आफ्नै वडाको सेवा लिन सहज भएको बताइन् । यस सडकले सो क्षेत्रका ८०० व्यक्ति प्रत्यक्ष लाभान्वित हुने उनले जानकारी दिइन् ।

उनले कविलासको चौकीडाँडामा पर्यटकीय दृश्यावलोकन स्तम्भ (भ्यू टावर) निर्माण गर्ने बताइन् । महानगर क्षेत्रको विकट पहाडी गाउँमा खानेपानीको व्यवस्था गरिने उनले बताइन् ।

सडक निर्माण उपभोक्ता समितिका अध्यक्ष सूर्यबहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा वडा अध्यक्ष मानबहादुर मगर, उपभोक्ता समितिका सचिव सुजन शर्मालगायतले बोलेका थिए । शर्माले सडक निर्माण गर्न महानगरबाट रु २० लाख र स्थानीय जनसमुदाय एवं जग्गा धनीसँग रु ३१ लाख १८ हजार सङ्कलन गरी सडक निर्माण गरिएको बताए ।

सडक पाँच किलोमिटर लामो रहेको छ । नारायणगढ–मुग्लिन सडकखण्डबाट चौकीडाँडा सात किलोमिटर दुरीमा पर्दछ । यसअघि नै दुई किलोमिटर सडक बनिसकेकाले बाँकी पाँच किलोमिटर सडक निर्माण गरिएको शर्माले जानकारी दिए । सो क्षेत्रमा वर्षात्को समयमा सडक अवरोध नहोस् भन्नका लागि स्काभेटर तयारी हालतमा राखिने उनले बताए । सडक, खानेपानी, विद्युत् आपूर्तिसँगै सो क्षेत्रमा विकासले गति लिन थालेको छ ।
–––

तपाईको प्रतिक्रिया