चितवन- कारागारमा रहेका कैदीबन्दी आफूहरुले निर्माण गरेका मुडाले बजार पाउन नसक्दा चिन्तित भएका छन् । तीन महिनादेखि यहाँ निर्मित मुडाले बजार पाउन सकेका छैनन् ।

कारागारमा रहेका कतिपय कैदीबन्दीले यही कमाइबाट घरखर्च चलाउँदै आएका थिए । उनीहरु अहिले मुडाले बजार नपाउँदा निरास बनेका छन् । कुनै समय बुटवल, पोखरा, काठमाडौँसम्म पुग्ने यहाँ निर्मित मुडाले अहिले कतै पनि बजार पाउन सकेको छैन ।

गत कात्तिक महिनादेखि नै यहाँ उत्पादित मुडाले बजार पाउन छाडेका हुन् । मुडा बुनेरै महिनाको रु १० हजारसम्म कमाउँदै आएका पदमपुरका रामविहारी चौधरी अहिले निकै चिन्तित बनेका छन् । घरमा कमाउने मान्छे नहुनु र आफूले उत्पादन गरेको सामग्रीले बजार नपाउँदा घर चलाउनसमेत समस्या परेको उनले दुखेसो पोखे ।

घरका लागि आवश्यक चामल र नून, तेलका लागि खर्च जुटाउँदै आएका चौधरी अहिले महिनाको रु एक हजार ५०० कमाउनसमेत धौधौ भएको बताउँछन् । उनी भन्छन्, “यहाँ निर्मित मुडाले राम्रो बजार पाउँदा घर खर्च र आफ्नो खर्च चलेको थियो अहिले त्यस्तो छैन । आफैँलाई चल्नसमेत समस्या भएको छ ।” यस्तै पीडा पोख्छन् विक्रम महतो । पहिला बजार पाउँदा राम्रो कमाइ भएको भए पनि अहिले भने निरासाजनक भएको उनको भनाइ छ ।

कारागार कार्यालय चितवनमा मुडा बुन्ने पेशामा मात्र ३०० जना कैदीबन्दी छन् । उनीहरुमध्ये १०० जनाले यही कमाइले घरखर्च चलाउँदै आएका छन् ।

कारागार कार्यालयको तथ्याङ्कलाई हेर्ने हो भने कारागारमा रहेका ७४२ कैदी बन्दीमध्ये ३५० जना कुनै न कुनै सीपमा व्यस्त रहेको देखिन्छ । मुडा बुन्ने, सिलाइकटाइ, गलैँचा, सुनचाँदीका गरगहना बनाउनेलगायतका काम उनीहरुले गरिरहेका छन् ।

यहाँ उत्पादित अन्य सामानको बजार राम्रो भए पनि पछिल्लो समय मुडाले बजार लिन नसकेको त्यहाँ उत्पादित मुडाको बजार व्यवस्थापन हेर्दै आएका सुवेदी सप्लायर्सका प्रेम सुवेदीले बताए । प्लास्टिकबाट उत्पादित सामानले बजार लिँदा कैदीबन्दीबाट उत्पादित सामग्रीले बजार पाउन नसकेको उनले जानकारी दिए ।

सरकारले कारागारलाई सुधारगृहका रुपमा परिमार्जन गर्ने लक्ष्य लिएको छ । सोहीअनुसार यहाँ आएका कैदीबन्दीलाई आत्मनिर्भरका लागि विभिन्न सीप सिकाइन्छ । कार्यालयका प्रमुख कमलप्रसाद काफ्लेले यहाँ उत्पादित सामग्रीको बजार व्यवस्थापनको कामलाई मुख्य ध्यान दिँदै काम गरिरहेको बताए । रासस

तपाईको प्रतिक्रिया