काठमाडौँ- राष्ट्रियसभाका सांसदहरुले सार्वजनिक जग्गा केही मानिसलाई फाइदा हुनेगरी दिने निर्णय खारेज गर्न सरकारसँग माग गरेका छन् ।

सभाको मंगलबारको बैठकको शून्य समयमा सांसद अनिता देवकोटाले घोराही उपमहानगरपालिकामा रहेको सार्वजनिक जग्गा नियम विपरीत नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकर्तालाई लिजमा दिन लागिएकाले खारेज गर्न माग गरे ।

सार्वजनिक जग्गा प्राकृतिक विपत्तिका लागि राखिनुपर्नेमा केही व्यक्तिको फाइदाका लागि बाँडिदा पछि आइपर्ने समस्याका बारेमा बेलैमा सचेत हुन उनले आह्वान गरे ।

अर्का सांसद इन्दु कडरियाले नेपालको वनजङ्गलमा पाइने जडीबुटी बाहिरिने तर औषधि महँगो भएर भित्रिने गरेकाले देशमै त्यसलाई उपयोग गर्ने विषयमा भएको कामका बारेमा जानकारी दिन सरकारसँग माग गरिन् ।

सांसद् कविता बोगटीले हुम्लाको ताक्लाकोटमा १५० जना बेवारिसे बसिरहेको बताउँदै एक जनामात्र सदरमुकाम आएकाले बाँकीलाई पनि जाँच गरी ल्याउने व्यवस्था मिलाइयोस् भनी माग गरिन् ।

सांसद् कोमल वलीले बिदाइ हुने सांसदलाई कविता वाचन गरी बिदाइ गरिन् । सांसद् खिमकुमार विकले विभेदलाई कानूनले निषेध गरे पनि छुवाछूत बढिरहेको बताउँदै छुवाछूतमुक्त राष्ट्र घोषणा गर्न प्रगतिशील सरकारले काम गर्नुपर्ने बताए ।

सांसदहरु उदया शर्मा पौडेल, ठगेन्द्रप्रकाश पुरी र तारादेवी भट्टले बिदाइ हुन लागेका १९ जना सांसदको सुखद एवं सफल जीवनको कामना गरेका थिए ।

तपाईको प्रतिक्रिया