हेटौँडा- गाँजा खेतीलाई वैधानिक बनाउन माग गदै वाग्मती प्रदेशसभा सचिवालयमा ‘गाँजा खेतीलाई नियमन तथा व्यवस्थापन गर्न बनेको विधेयक’ दर्ता भएको छ ।
आजको प्रदेशसभा बैठकमा प्रदेशसभा सदस्य केशव स्थापितले आफूले सो सम्बन्धी विधेयक सचिवालयमा दर्ता गराएको जानकारी दिए ।
प्रदेशसभामा निजी विधेयकका रुपमा सो विधेयक पहिलोपटक दर्ता भएको जनाइएको छ । सो विधेयक ५३ औँ विधेयक हो । यसअघि सभामा दर्ता भएका ५२ वटा विधेयक सरकारका तर्फबाट मात्र दर्ता गरिएको संसद् सचिवालयका प्रवक्ता विनोद अमात्यले जानकारी दिए ।
यसअघि सङ्घीय संसद् सचिवालयमा शेरबहादुर तामाङले गाँजासम्बन्धी विधेयक दर्ता भएको थियो । सङ्घीय संसद्मा दर्ता भएको विधेयकको मस्यौदालाई नै परिमार्जन गरेर प्रदेशसभामा दर्ता गरेको पूर्वमन्त्रीसमेत रहेका स्थापितले जानकारी दिए । नेपाली किसानको जीवनस्तर उकास्न र औषधीजन्य प्रयोजनका लागि गाँजा खेतीलाई व्यवस्थित गर्न विधेयक दर्ता गरेको उनको भनाइ छ ।