
काठमाडौँ- कोरोना भाइरसको सम्भावित जोखिम नियन्त्रणका लागि सङ्क्रमण भेटिएका मुलुकबाट दुवैतर्फी उडान रोक्न पर्यटन व्यवसायीले सुझाएका छन् ।
छिमेकी मुलुक चीनको वुहान सहरबाट फैलिएको कोभिड–१९ को प्रभाव अहिले विश्वका ६९ भन्दा बढी मुलुकमा विस्तार भइसकेका अवस्थामा अन्तरराष्ट्रिय यात्रुको आवतजावत नियन्त्रण गरी कोरोनाको सम्भावित जोखिमबाट बच्न विशेष सतर्कता अपनाइनुपर्नेमा उनीहरुको जोड छ ।
नेपालले कोभिड–१९ को जोखिम न्यूनीकरण र व्यवस्थापनका लागि सजकता अपनाए पनि यसलाई अझै प्रभावकारी बनाइनुपर्ने सरोकार भएकाको भनाइ छ ।
विदेशी यात्रुको आवतजावत हुने मुलुकको एक मात्र त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा स्वास्थ्य परीक्षणको व्यवस्था गरिएको छ । यसलाई थप जनशक्ति र उपकरणयुक्त प्रभावकारी बनाउन तथा भाइरस भेटिएका मुलुकबाट आउने मुलुकका नागरिकलाई विशेष निगरानीमा राख्न पनि सम्बन्धित निकायको ध्यानाकर्षण गराइसकिएको छ ।
ट्रेकिङ एजेन्सिज एशोसिएसन अफ नेपाल (टान)का अध्यक्ष खुमबहादुर सुवेदीले कोरोना भेटिएका मुलुकबाट नेपालमा हुने तथा यहाँबाट तत्त् मुलुकमा हुने अन्तरराष्ट्रिय उडान स्थगन गर्न तालुकदार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई आग्रह गरिसकिएको बताए ।
“कोरोनाको त्रासले नेपालको पर्यटन क्षेत्र मात्र नभई समग्र अर्थतन्त्रमा नकारात्मक असर पर्ने खतरा बढेको छ, यसको जोखिम नियन्त्रणका लागि विशेष सावधानी अपनाउनुपर्छ”, उनले भने, कोरोनाको सम्भावित सङ्क्रमणको विषय अन्तरराष्ट्रिय यात्रुको आगमनसँग जोडिएकाले सम्बन्धित मुलुकका हवाई सेवा बन्द गर्नुपर्छ ।”
विश्वका करिब ४० मुलुकसँग नेपालको हवाई सम्झौता भए पनि अहिले अन्तरराष्ट्रिय विमानस्थलमा तीन नेपालीसहित २९ वायु सेवा प्रदायक कम्पनीले अन्तरराष्ट्रिय उडान भर्दै आएका छन् । कोरोना सङ्क्रमण भेटिएका मुलुक चीन, दक्षिण कोरिया, जापानलगायत मुलुकबाट हुने अन्तरराष्ट्रिय उडान रोक्न व्यवसायीले नियामक निकायलाई आग्रह गरेका छन् ।
नेपाल एशोसिएसन अफ टूर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा)का अध्यक्ष अच्युत गुरागाईंले कोरोनाको उच्च जोखिममा रहेका मुलुकबाट नेपालमा हुने उडान स्थगनका लागि सरोकार निकायमा बारम्बार ताकेता भइरहेको बताए ।
नेपालमा कोरोना छैन भनेर ढुक्कका साथ बस्ने अवस्था छैन भन्दै उनले यसको जोखिम फैलन नदिन विद्यालय, सार्वजनिक स्थललगायत स्थानमा जनचेतना फैलाउन जरुरी भएको बताए । कोरोनाको सावधानीबारे पछिल्ला दिनमा दिनहुँजसो सरोकार भएका निकाय पर्यटन मन्त्रालय, नेपाल पर्यटन बोर्ड, पर्यटन विभाग, सङ्गठित सङ्घसंस्थासँग बैठक बसेको पनि अध्यक्ष गुरागाईंले जानकारी दिए ।
यता पर्यटन मन्त्रालयले पनि नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणको सिफारिश प्रतिवेदनका आधारमा आजै थप निर्णय हुने जनाएको छ । मन्त्रालयका एक उच्च अधिकारीले कोरोनाको जोखिम भएका मुलुकबाट नेपालमा हुने उडानमा विशेष सतर्कता अपनाउनेबारे आजै बैठक बसेर निर्णय हुने जानकारी दिए ।
प्राधिकरणका महानिर्देशक राजन पोखरेलले अन्य मुलुक झैँ नेपालले पनि उड्डयन क्षेत्रमा आवश्यक सतर्कता अपनाइएको बताए । आफ्ना नागरिकलाई अत्यावश्यकबाहेक विदेश यात्रा नगर्न ट्राभल एडभाइजरी जारी गरी प्राधिकरणले अनुरोध गरिसकेको छ ।
विश्वको शक्तिमान राष्ट्र अमेरिकामा समेत कोरोनाको सङ्क्रमण भएका व्यक्ति फेला परिसकेको छ । विश्व अर्थतन्त्रका चलायमान मुलुक दक्षिण कोरिया र जापानमा समेत भाइरस फैलिएको छ । पछिल्लोपटक इटाली, इरानलगायत देशमा पनि कोरोनाको सङ्क्रमण भेटिएको छ ।
कोरोनाको सम्भावित जोखिमलाई ध्यानमा राखी सम्बन्धित मुलुकले विभिन्न खाले सतर्कता अपनाइरहेका छन् । अल्पविकसित मुलुक नेपाल छिमेकी चीनसँग सिमाना जोडिएको भएकाले पनि विशेष सतर्कता अपनाउनुपर्ने हुन्छ ।
विश्व स्वास्थ्य सङ्गठनले नेपाललाई उच्च जोखिममा राखिसकेको छ । नेपालसहित दक्षिण एशिया र मध्यपूर्वी एशियाका कतिपय मुलुलाई कोरोनाको उच्च जोखिममा राखिएको छ । सोमबारसम्म सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या तीन हजार नाघिसकेको छ ।
यीमध्ये अधिकांश व्यक्ति चीनका छन् । यद्यपि अन्य मुलुकमा नयाँ सङ्क्रमण दर चीनमा भन्दा १० गुणा बढी रहेको देखिएको संयुक्त राष्ट्र विश्व स्वास्थ्य सङ्गठनले जनाएको छ । विश्वभर हाल करिब ८८ हजार ९४८ जना कोरोना सङ्क्रमित छन् ।