चितवन- प्रथम भरतपुर साँस्कृतिक महोत्सव २०७६ मा मंगलबार विविध साँस्कृतिक कार्यक्रम सम्पन्न भएका छन् ।
महोत्सवको साँस्कृतिक कार्यक्रमअन्तर्गत मंगलबार राष्ट्रिय लोक तथा दोहोरी गायिका टिका सानु तथा स्थानीय कलाकारहरुले प्रस्तुति राखेका छन् । मंगलबार हुने भनिएको लोकदोहोरी प्रतियोगिता फाइनल बुधबारमात्रै हुने भएको छ ।
महोत्सव आयोजक संस्था भरतपुर बजार व्यवस्थापन समितिका अध्यक्ष एवम् महोत्सवका मूल संयोजक श्याम पौडेलले बुधबारमात्रै लोकदोहोरी प्रतियोगिताको फाइनल तथा रत्यौली गीत प्रतियोगिताको शुरु गरिने जानकारी दिए ।
पौडेलका अनुसार बुधबार नै राष्ट्रिय लोक तथा दोहोरी गायक मिलन लामाले समेत प्रस्तुति राख्ने भएका छन् । सो महोत्सवको साँस्कृतिक कार्यक्रममा दैनिक रुपमा राष्ट्रिय कलाकारहरुले प्रस्तुति राख्दै आएका छन् ।
महोत्सवको साँस्कृतिक कार्यक्रममा बाल नृत्य प्रतियोगिता, चर्चित ¥यापर भिटेन सहित विभिन्न राष्ट्रिय एवम् स्थानीय कलाकारको प्रस्तुति रहने बताइएको छ । फागुन १६ गतेदेखि सुरु भएको प्रथम भरतपुर साँस्कृतिक तथा कृषि, उद्योग पर्यटन, व्यापार महोत्सव २०७६ मा दर्शकहरुको सङ्ख्या बढ्ने क्रममा रहेको रहेको पौडेलले बताए ।
फागुन २७ गतेसम्म सञ्चालन हुने महोत्सव परिसरमा बाल उद्यान निर्माणको कामले समेत तीव्रता पाएको छ । महोत्सवले कृषि, पर्यटन, स्थानीय उत्पादन, उद्योग तथा व्यापारिक उत्पादनलाई प्रवद्र्धन गरेको पौडेलले जानकारी दिए ।
महोत्सवको आकर्षणको रुपमा बीसहजारी तालको आकृति, थारु तथा चेपाङ समुदायको साँस्कृतिक घरसहित मालिका मन्दिरको आकृति महोत्सव स्थलमा निर्माण गरिएको पौडेलको भनाइ छ ।
सो महोत्सवमा पोल्ट्री, केरा, माछा, दूधलगायतका उत्पादनलाई प्रर्वद्धन गरिएको मूल संयोजक पौडेलले बताए । महोत्सवमा अटोसम्बन्धी १० वटा, फास्टफुडका १० वटा, आइसक्रिम तथा पानीजन्य १५ वटा, फेन्सी तथा व्यापारिक, औद्योगिक उत्पादन, पर्यटन प्रवद्र्धनका साथै सामाजिक संघसंस्थाका स्टलहरुसमेत २५० भन्दा बढी स्टल रहेको महोत्सवको सचिवालय संयोजक एवम् भरतपुर बजार व्यवस्थापन समितिका सचिव बाबुराम गैरेले जानकारी दिए ।
महोत्सवको आम्दानीबाट बचेको रकममध्ये भरतपुर बसपार्कमा नेपालमै ठूलो राष्ट्रिय झण्डाको स्तम्भ निर्माण, पर्यटन प्रवद्र्धन र केही रकम निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालालाई प्रदान गर्ने लक्ष्य रहेको छ ।