विराटनगर- नेपाली काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले मुलुकमा भएको भ्रष्टाचारको विरुद्ध पार्टी सशक्त रुपमा उभिनुपर्ने बताएका छन् ।
पिताजी कृष्णप्रसाद कोइराला स्मृति परिषद् विराटनगरद्वारा आयोजित सम्मान समर्पण समारोहमा उनले सेक्युरिटी प्रेस र वाइड वडी जहाजको अनियमितताविरुद्ध सदन र सडकमा आफ्नो उपस्थिति देखाउनुपर्ने बताए ।
नेता पौडेलले जनताले ठूलो त्यागबाट ल्याएको सङ्घीय लोकतान्त्रिक गणतन्त्रको स्थायित्वका लागि प्रतिपक्षको रुपमा पार्टीले सक्रिय भूमिका निभाउनुपर्ने बताए । उनले पद बाँडेर पार्टी बलियो नहुने चर्चा गर्दै भातृ सङ्गठनको अधिवेशन गरेर स्वच्छ छवि भएका प्रतिनिधिको चयन गर्नुपर्नेमा जोड दिए ।
नेता पौडेलले “पार्टीभित्रको विमति नीतिगत र प्रक्रियागतको आधारमा हो, व्यक्तिको होइन”, वरिष्ठ नेता पौडेलले भने, “पार्टी जोगाउन पूर्वाग्रह नराखी सहमति गर्न म सबैलाई आग्रह गर्दछु ।” उहाँले पार्टीलाई जनताको भरोसाको पार्टी बनाउन नेतृत्व तह लाग्नुुपर्नेमा जोड दिए । समारोहमा नेता पौडेलले समाजसेवी एवं पूर्वराजदूत गोपालप्रसाद शर्मालाई सम्मान गरे ।
नेपाली काँग्रेस, प्रदेश नं १ प्रमुख सचेतक केदार कार्कीले कार्यकर्ताले जनताको घरदैलोमा पदका लागि नभई सुखदुःखमा सहभागी हुन आग्रह गर्दै विधानअनुसार पार्टी सञ्चालन नभएमा समाप्त हुने धारणा राखे ।
नेपाली काँग्रेसका केन्द्रीय सदस्य सदस्य महेश आचार्यले पिताजी कृष्णप्रसाद कोइरालाले मुलुकमा प्रजातन्त्र स्थापनाको लागि ठूलो त्याग गरेको स्मरण गरे ।
अर्का केन्द्रीय सदस्य डा शेखर कोइरालाले पार्टीभित्र रहेका कमीकमजोरी सुधार गरी विधान सम्मत हिँड्न नेतृत्वलाई आग्रह गरे ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य महेश रेग्मीले अध्यारो समाजलाई शैक्षिक, राजनीतिक, चेतना र आर्थिक रुपमा चेतना जागृत गराउन स्व कोइरालाले आफ्नो जीवन सपर्मण गरेको स्मरण गरे ।
परिषद्का अध्यक्ष अशोक कोइराला, नेका केन्द्रीय सदस्य अमृत अर्याल, विराटनगर उपमहानगरपालिकाका उपप्रमुख इन्दिरा कार्की, सम्मानित व्यक्तित्व शर्मा र दधिराज सुवेदीले शिक्षाको विकास र प्रजातन्त्र स्थापनामा स्व कोइरालाले खेदेको भूमिकाबारे चर्चा गरेका थिए ।