दैलेख- दैलेखको धरमपोखराबाट सुर्खेत आउँदै गरेको जीप दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार रातानाङ्गला–धरमपोखरा सडकअन्तर्गत पर्ने राउटे गल्छीमा आज कर्णाली प्रदेश ०२–००१ ज ०००७ नम्बरको जीप दुर्घटना भएको हो ।

दुर्घटनामा परी मृत्यु हुनेमा सुर्खेतको चिङ्गाड गाउँपालिका– ६ का देवबहादुर खड्का, वीरेन्द्रनगर–१५ का खड्गबहादुर बुढाथोकी, उहाँको श्रीमती गोमा बुढाथोकी रहनुभएको छ । दुर्घटनामा चार जना घाइते भएका छन् ।

चिङ्गाड गाउँपालिका– ६ का दुर्गाबहादुर गाहा, उनको श्रीमती चन्द्राकुमारी गाहा, वीरेन्द्रनगर– ८ का नरे नेपाली र वीरेन्द्रनगर– १६ का लक्ष्मी ज्ञवाली घाइते भएका छन् । जीपमा सात यात्रु सवार थिए ।

घाइते नरे र चन्द्राकुमारीको अवस्था गम्भीर रहेको बताइएको छ । उनीहरुको प्रदेश अस्पताल कालागाउँमा उपचार भइरहेको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक रवि रावलले जीप अनियन्त्रित भई सडकबाट झण्डै ४०० मिटर तल खसेको बताए । तस्बिर : फाइल

तपाईको प्रतिक्रिया