चितवन- भरतपुर ९ मा रहेको केन्द्रीय बस टर्मिनल नजिकै राष्ट्रिय सहकारी बोर्डको खाली चौरमा सञ्चालन गरिएको प्रथम भरतपुर साँस्कृतिक महोत्सव २०७६ स्थगित गरिएको छ । चीनबाट फैलिएको कोरोना भाइरस (कोभिड–१९)को उच्च सतर्कताका लागि स्थानीय प्रशासनले गरेको अनुरोधका आधारमा महोत्सव स्थगित गरिएको आयोजकले जनाएको छ ।
भरतपुर बजार व्यवस्थापन समितिका अध्यक्ष एवम् महोत्सव मूल समिति संयोजक श्याम पौडेल तथा समितिका सचिव एवम् महोत्सवका सचिवालय संयोजक बाबुराम गैरेद्वारा हस्ताक्षरित विज्ञप्तिमा आमजनस्वास्थ्यप्रति संवेदनशील हुँदै महोत्सव स्थगित गरिएको जनाइएको छ ।
विज्ञप्तिमा भनिएको छ, ‘जिल्ला प्रशासन कार्यालय चितवनले जारी गरेको सूचना तथा प्रमुख जिल्ला अधिकारीसँगको छलफलका साथै नेपाल सरकारले पछिल्लोपटक जारी गरेको परिपत्रमा मेलामहोत्सवहरु स्थगन गर्ने निर्णयलाई मध्यनजर गर्दै अर्को सूचना जारी नभएसम्म महोत्सव स्थगित गर्ने निर्णय गरेको अवगत गराउन चाहन्छौँ ।’
जनस्वास्थ्य जस्तो संवेदनशील विषयमा गम्भीर हुँदै जिल्ला प्रशासन कार्यालयको अनुरोधलाई आत्मसाथ गरि महोत्सव स्थगित गरिएको जनाइएको छ ।
विज्ञप्तिमा अगाडि भनिएको छ, ‘यसबाट पर्न गएको असुविधाप्रति क्षमा याचना गर्दै निकट भविष्यमा पुनः सञ्चालन हुनेसमेत जानकारी गराउँछौँ ।’
फागुन १६ गतेदेखि महोत्सव सञ्चालन गरिएको थियो । फागुन २७ गतेसम्म हुने भनिएको महोत्सव जनस्वास्थ्यलाई मध्यनजर गर्दै बुधबारदेखि स्थगित गरिएको हो ।