पोखरा- चीनको नाकासँग गण्डकी प्रदेशको सीमा जोडिएकाले यस प्रदेशमा उच्च जोखिम रहेको अनुमान गरिएको छ । गत माघ १२ गते कोरोना भाइरस नियन्त्रण र प्रतिकार्यको सामाजिक विकास मन्त्रालयअन्तर्गत प्रदेश स्वास्थ्य निर्देशक डा विनोदविन्दु शर्मा संयोजकत्वमा गठित ‘टास्क फोर्स’ सक्रिय भइ काम गरिरहेको छ ।

अहिले कोराना भाइरस सङ्क्रमितका लागि भनेर अस्पतालमा दुई हब र २७ सेटेलाइट अस्पताल तोकिएका निर्देशक शर्माले जानकारी दिए । उनले कोरोनाको जोखिम न्यूनीकरणका लागि चार अस्पतालमा आइसोलेसन वार्ड तयार गरिएको बताए ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको क्षेत्रीय अस्पतालमा तीन, चरक मेमोरियल नागढुंगामा २७, मणिपाल शिक्षण अस्पतालमा १५, गण्डकी मेडिकल कलेजमा १५ गरी ६० शैय्याको आइसोलेसन वार्ड तयार गरिएको डा शर्माले जानकारी दिए ।

उन्ले क्वारेन्टाइन स्थलको पनि खोजी भइरहेको बताए । “क्वारेन्टाइनका लागि सम्भावित स्थल खोजी भइरहेको छ”, डा शर्माले भने, “सन् २००२ देखि यस्ता भाइरस देखा पर्दै आइरहेका छन्, अब प्रदेशस्तरमा एउटा विशिष्टकृत सरुवा रोगसम्बन्धी छुट्टै अस्पताल तत्काल निर्माण हुनुपर्ने आवश्यक देखिन्छ, यसमा प्रदेश सरकार गम्भीर हुनुपर्छ ।”

उनले प्रदेशमा सम्भावित बिरामीको नमूना सङ्कलन तथा सावधानीका लागि चिकित्सकले लगाउने जम्मा २४ सेट पिपिइ (पर्सनल प्रोटेक्सन इक्विपमेन्ट) रहेका र जुन पर्याप्त नभएको उनको भनाइ छ । विशेष प्रकारको हेल्मेट, पन्जा, मास्कलगायत सामग्री प्रदेश निर्देशनालयले रु पाँच लाख बराबरका खरिद गर्ने तयारी गरेको उनले बताए ।

उनले गण्डकी प्रदेशमा एक जनामा शङ्का लागे पनि तह गत परीक्षणबाट नेगेटिभ देखिएको बताए । हाल पोखरा विमानस्थल र मुस्ताङमा विशेष हेल्थ डेस्क राखेर निगरानी बढाइएको र प्रदेशका सबै जिल्लामा स्वास्थ्य सचेतनाका लागि कार्यक्रम भइरहेका उनले जानकारी दिए ।

उनले भने, “पोखरा विमानस्थलमा पर्यटकको ज्वरो नाप्ने र स्वास्थ्य अवस्था बुझ्ने काम नियमित भइरहेको छ ।” हेल्थ डेस्क पोखरामा दुई र मुस्ताङमा एक जनालाई खटाइएको छ ।

तपाईको प्रतिक्रिया