
चितवन- खैरहनी नगरपालिका वडा नं ९ स्थित नमुना पेट्रोल पम्प अगाडि बस र ट्रक ठक्कर खाँदा बसका नौ यात्रु घाइते भएका छन् । दुर्घटना बिहीबार बिहान अन्दाजी तीन बजेको समयमा भएको हो ।
विराटनगरबाट काठमाडौँ जाँदै गरेको ना६ख १५६१ नम्बरको बस र विपरीत दिशाबाट आउँदै गरेको ना५ख ६१७६ नम्बरको ट्रक एक आपसमा ठक्कर खाँदा बसमा सवार ३४ जनामध्ये नौ जना घाइते भएको इलाका प्रहरी कार्यालय खैरहनीले जनाएको छ ।
घाइते हुनेहरुमा भारत कलकत्ता खडी सिंगापर बस्ने वर्ष २४ को आईजावु हुसेन, सुनसरीको इटहरी नगरपालिका १ बस्ने वर्ष २९ को मनिकराम चौधरी, भारत समस्तीपुर बस्ने वर्ष ५५ की मीनादेवी राम, भारत मुसिदावाद बस्ने वर्ष २९ को मिठु सेठ, सोही स्थानका वर्ष ५२ को जादुर हुसेन, इटहरी १६ बस्ने वर्ष ४१ को मिलन श्रेष्ठ, सोही स्थानका वर्ष १९ को सन्तोषकुमार चौधरी, वर्ष ४५ को सुरेशकुमार चौधरी र रामधुनी ४ बस्ने वर्ष २६ को नवीनकुमार चौधरी रहेका छन् ।
घाइतेहरुको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको र सबैको स्थिति मध्यम रहेको प्रहरीले जनाएको छ । प्रहरीले दुवै सवारी साधन र ट्रक चालकलाई नियन्त्रणमा लिएको छ भने बसका चालक भने फरार रहेकाले खोजी कार्य भइरहेको जनाएको छ ।