काठमाडौँ- विश्वव्यापीरूपमा आतंकका रुपमा देखापरेको ‘कोभिड–१९’ ले पार्ने नेपालको समग्र अर्थतन्त्रबारे सरकारले अध्ययन सुरु गरेको छ ।
कोरोना भाइरसका कारण विश्वव्यापीरूपमै अर्थतन्त्रमा नकारात्मक प्रभाव परिरहेको अवस्थामा त्यसबाट पार्ने प्रभावका बारेमा अध्ययन थालिएको अर्थ एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री डा युवराज खतिवडाले जानकारी दिए । उनले भने, “कोरोना भाइरसले नेपाली अर्थतन्त्रमा पार्ने असरको विषयमा अध्ययन थालिएको र यसमा अर्थ मन्त्रालय र राष्ट्र बैंकले काम सुरु गरिसकेको छ ।”
चीनबाट फैलिएको कोरोना भाइरसको नकारात्मक प्रभाव नेपाली अर्थतन्त्रमा पर्न थालिसकेको छ । सरकारले नेपाल भ्रमण वर्ष २०२० को प्रचारप्रसारसमेत तत्कालका लागि स्थगन गरेको छ ।
औद्योगिक क्षेत्रमा कच्चा पदार्थको अभाव देखिने थालेको गुनासो आइरहेको बेला अर्थमन्त्री खतिवडाले समग्र पक्षको अध्ययन सुरु गरिएको जानकारी दिए ।
अर्थमन्त्री खतिवडाले कोरोना भाइरसको तत्काल र दीर्घकालीन असर पर्ने भन्दै त्यसको अध्ययन गरेर सरकार अगाडि बढ्ने स्पष्ट पारे । नेपाल भ्रमण वर्षको सन्दर्भमा अन्तर्राष्ट्रिय क्षेत्रमा गरिने प्रवद्र्धनका काम तत्कालका लागि स्थगित गर्ने निर्णय भएको जानकारी दिए ।
विश्वव्यापीरूपमा समस्या कस्तो प्रभाव देखिन्छ सोही आधारमा नै थप व्यवस्था एवं निर्णय गर्दै जाने सोचाइमा रहेको उनको भनाइ छ । यस्तै कतिपय निर्णयमा अन्तर्राष्टिय कानुनलाई हेरेर पनि निर्णय गर्नुपर्ने अवस्था रहेको उनको भनाइ छ ।
यस्तै, सेक्युरिटी प्रेससम्बन्धी विषयमा आफूले बुधबार नै स्पष्ट पारिसकेको दोहो¥याए । मन्त्री डा खतिवडाले भने, “मैले बुधबार नै सेक्युरिटी प्रेस खरिदका लागि प्रतिस्पर्धात्मक विधि अपनाइने उल्लेख गरिसकेको छु । प्रचलित कानूनअनुसार नै आवश्यक निर्णय हुन्छ ।” यस्तै अन्तःशुल्कको स्टिकर तथा अन्य अत्यावश्यक सामग्रीमा समेत सोही प्रक्रिया अवलम्बन गरिने मन्त्री डा खतिवडाको भनाइ छ ।
दुई वर्षमा शेयरबजार सुधारमा धेरै काम भए
अर्थमन्त्रीसमेत रहेका सञ्चारमन्त्री डा खतिवडाले पछिल्लो दुई वर्षमा शेयरबजार सुधारका लागि दीर्घकालीन महत्वका निर्णय भएको बताए । उनले शेयरबजार तलमाथि हुने प्रक्रियालाई बजारको सेन्टिमेन्टका रूपमा बुझ्न र सोहीअनुसार अगाडि बढ्नसमेत आग्रह गरे ।
उनले भने, “पूँजी बजारमा सबैभन्दा बढी सुधार यही दुई वर्षमा भएको छ । नीति निर्माण बनाउने कुरामा होस् वा कर प्रणालीमा सुधार गर्ने कुरामा होस् । यस्तै कारोवारलाई एकदम छिटो समयमा राफसाफ गर्ने कुरामा समेत सुधार गरिएको छ ।” उहाँले मार्जिन लेण्डिङसँग जोडिएका विषय तथा राफसाफको विषयमा समेत सुधार भएको दृष्टान्त पेश गरे ।
उनले अनलाइन कारोवारसमेत वर्तमान सरकार गठन भएपछि सुरु भएको तथ्य पेश गरे । उनले थप स्पष्ट पार्दै भने, “अर्थमन्त्रीको काम लगानीकर्तालाई लगानी गर्ने अवसरसम्म पु¥याइदिने हो । बाँकी लगानीकर्ताको जिम्मा हो । शेयरबजारको मूल्यको कुरामा पनि त्यही नै हो । यो कुनै मान्छेको अनुहार र व्यक्ति विशेषसँग जोड्ने विषय होइन ।”
उनले आफूले लगानी गर्ने कम्पनीको वासलात, नाफानोक्सान हिसाब गरेर, भविष्यमा त्यो व्यवसाय कति बलियो भएर जान्छ आदि हेरेर लगानीको निर्णय गर्न पनि लगानीकर्तालाई सुझाव दिए ।
मन्त्री डा खतिवडाले लगानीकर्ताले लगानीसम्बन्धी निर्णय गर्दा सरकारबाट आउने नीतिहरु कस्ता हुन्छन् भनेर पर्खिनसमेत आग्रह गरे ।