-ध्रुवराज लामिछाने
चितवन- जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र रत्ननगरको आयोजनामा ‘एकघर पाँच जडिबुटी : पाँच योग, पाँच जीवनशैली परिवर्तन’ कार्यक्रम सम्पन्न भएको छ ।

डा कोपिला अधिकारीको सभापतित्व एवम् रत्ननगर १ का कार्यवाहक वडाध्यक्ष बाबुराम गौतमको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा समाजसेवी कोपिलामणि पौडेल, बकुलहर माविकी प्रधानाध्यापक कमला ढकाल, रत्ननगर नगरपालिकाकी जिन्सी शाखा प्रमुख डिम्बेश्वरी पौडेललगायतले मन्तव्य व्यक्त गरेका थिए ।

वैद्य हुमाकुमारी ज्ञवालीले स्वागत तथा वैद्य देवेन्द्रकुमार यादवले सञ्चालन गरेको कार्यक्रममा डा अधिकारीले जीवनशैली परिवर्तनका लागि योग अपरिहार्य रहेको बताइन् ।

जुडिबुटीको महत्त्वमाथि प्रकाश पार्दै उनले पहिले ज्वरोलगायत पुराना प्राणघातक रोगहरु पनि निको हुने र सजिलै पाइने जडिबुटीको प्रयोग गर्न आग्रह गरिन् । सजिलै पाइने घ्युकुमारी, गुर्जो, निम, तुलसी र अदुवाजस्ता पाँच जटिबुटीको प्रयोग र फाइदाबारे उनले जानकारी गराएकी थिइन् ।

घ्युकुमारीले उच्च रक्तचाप, मधुमेह, महिनाबारीको समस्या, जन्डिस, छालारोग र पोलेको दाग हटाउन मद्दत गर्ने, गुर्जोले युरिक एसिड, बाथलगायतका रोगका लागि लाभ गर्ने, निमको प्रयोगले प्रेसर सुगर घटाउनुका साथै क्यान्सरका लागि समेत लाभदायी हुने, तुलसीले रुघाखोकी, दमको रोग, जीवाणु हटाउन र छालाका लागि लाभदायी हुने र अदुवाले पाचन प्रणाली, रुघाखोकीका लागि लाभदायी हुने भएकाले यी पाँच जडिबुटी सबैका लागि उत्तिकै आवश्यक रहेको कार्यक्रममा बताइएको थियो ।

साथै, कार्यक्रममा ३० जनालाई प्रतिव्यक्ति दुई वटाका दरले हर्रो, बर्रो, अमला, सीताफल, अशोक, निम, रुद्राक्ष, श्रीखण्ड, रक्तचन्दन, कपुर, तेजपत्ता र गुर्जोको विरुवा वितरण गरिएको थियो ।

तपाईको प्रतिक्रिया