चितवन- रत्ननगर २ सिनेमारोडमा मुख्य कार्यालय रहेको कामना बचत तथा ऋण सहकारी संस्थाले शनिबार पूर्वी चितवनको कालिका नगरपालिका वडा नं ६ अन्तर्गत पर्ने खोलेसिमल बजार र रत्ननगर नगरपालिका वडा नं १६ पिठुवाको दोबाटो बजारमा सेवा केन्द्र स्थापना गरी कारोबार सुरू गरेको छ ।

खोलेसिमलमा वडा नं ६ का वडा सदस्य दशरथ सापकोटा र पिठुवामा वडा नं १६ का वडाध्यक्ष हेमराज थापाले सेवा केन्द्रको उद्घाटन गरेका हुन् । खोलेसिमलमा आयोजित कार्यक्रमका प्रमुख अतिथि सापकोटाले सहकारीले ग्रामीण क्षेत्रका वासिन्दाको आर्थिक अवस्था मजबुत गराउने गरी कार्यक्रम ल्याउनुपर्ने बताए ।

यस्तै, पिठुवामा आयोजित कार्यक्रमका प्रमुख अतिथि थापाले विपन्न समुदायका मानिसहरु लाभान्वित हुनेगरी कृषिमा लगानी गर्न सहकारीलाई आग्रह गरे ।
दुईवटै कार्यक्रममा सहकारीका अध्यक्ष दीपकचन्द्र शर्माले सेवा केन्द्र स्थापनालाई सार्थक बनाउन स्थानीय आवश्यकता पहिचान गरी कार्यक्रम ल्याउने प्रतिबद्धता जनाए । उनले समाजका अगुवाहरुसँग छलफल गरी ऋण लगानीका क्षेत्रहरुको पहिचान गर्ने बताए ।

खोलेसिमलमा आयोजित कार्यक्रममा सो सेवा केन्द्र सञ्चालक समितिका संयोजक प्रेमप्रसाद अमगाईं र पिठुवामा आयोजित कार्यक्रममा सो सेवा केन्द्रका संयोजक चिजकुमार श्रेष्ठले स्वागत मन्तव्य राखेका थिए ।

विसं २०६५ सालमा स्थापना भएको सो सहकारी संस्थामा ३ हजार २३५ जना शेयर सदस्य रहेका छन् । ३ करोड ३५ लाख कुल शेयर पुँजी रहेको सो सहकारीले १६ करोड १५ लाख रुपैयाँ ऋण लगानी गरेको छ ।

१४ करोड ५४ लाख रुपैयाँ कुल बचत रहेको सो सहकारीको २१ करोड ३५ लाख रुपैयाँ कुल सम्पत्ति रहेको संस्थाका व्यवस्थापक ओमप्रकाश गुप्ताले जानकारी दिए । कार्यक्रममा पिठुवा दुग्ध उत्पादक सहकारी संस्थाका अध्यक्ष बद्री अर्याल, जनजागृति माविका सहायक प्राचार्य रामहरि भण्डारी, सहकारीका सचिव सूर्यप्रसाद लामिछाने, कोषाध्यक्ष टेकनाथ अधिकारी, सल्लाहकार समिति संयोजक गुरूप्रसाद अधिकारी, लेखा समिति संयोजक सन्दिप बर्राकोटी, शिक्षा समितिका संयोजक यादव सिलवाल, कार्यसमिति सदस्य झनकप्रसाद पौडेललगायतले मन्तव्य राखेका थिए ।

यसअघि सो सहकारीले रत्ननगरकै हाइस्कुलरोडसहित भण्डारा बजार र पर्सा बजारमा सेवा केन्द्र स्थापना गरिसकेको सचिव सूर्यप्रसाद लामिछानेले जानकारी दिए ।

तपाईको प्रतिक्रिया