वासिङ्टन- विश्वका विभिन्न देशमा समेतगरी कोरोना भाइरसका सङ्क्रमितको सङ्ख्या एक लाख नाघेको छ । संयुक्त राज्य अमेरिकाको जोन हप्किन्स विश्वविद्यालयले प्रकाशन गरेको तथ्यांक एवम् विभिन्न समाचार संस्थाअनुसार यस भाइरसको प्रकोपबाट सङ्क्रमित हुने व्यक्तिको सङ्ख्या १ लाख ३ हजार ९७५ पुगेको छ ।
उक्त विश्वविद्यालयको तथ्यांकअनुसार यस प्रकोपबाट सङ्क्रमितहरुमध्ये अधिकांश चीनमा नै रहेको बताइएको छ । चीनमा मात्र कोरोनाबाट सङक्रमितको संख्या ८० हजार ६५१जना रहेको उक्त विश्वविद्यालयले प्रकाशन गरेको पछिल्लो तथ्यांकमा उल्लेख गरिएको छ ।
यस्तै, दक्षिण कोरियामा ७ हजार ४१, इरानमा ५ हजार ८२३, इटालीमा ६ हजार ६३६, जर्मनीमा ७१७, फ्रान्समा ७१६, डाइमन्ड प्रिन्सेस जहाजमा ९९६, स्पेनमा ४७७, जापानमा ४३५, अमेरिकामा ३३५, स्वीट्जरल्याण्डमा २६८, बेल्जियममा १६९, यूकेमा १६४, स्वीडेनमा १३७, नर्वेमा १३६, सिंगापुरमा १३०, नेदरल्याण्ड्समा १२८ र हङकङमा १०८ प्रभावित भएका छन् । यो संख्या एक सयभन्दा बढी संक्रमित हुने देशको हो ।
विश्वभर हाल कोरोना संक्रमितहरु एक लाखभन्दा बढी पुगेको समाचार विभिन्न सञ्चारमाध्यमहरुले दिएका छन् । गत डिसेम्बरको अन्त्यबाट चीनको हुबेई प्रान्तको उहान सहरबाट सुरु भएको यस कोरोना भाइरस सङ्क्रमणबाट चीनमा मात्र तीन हजार ७० जनाको मृत्यु भएको छ ।
अधिकारीहरुले विभिन्न देशबाट जारी गरेका सूचनाहरुको अध्ययनमा यस भाइरसको सङ्क्रमणबाट ज्यान जाने व्यक्तिको संख्या शनिबारसम्म ३ हजार ५२४ नाघेको छ । यस भाइरसको सङ्क्रमण ९८ देश र आसपासमा फैलिएको छ ।
कोरोनाकै कारण दक्षिण कोरियामा हालसम्म ४८ जनाको मृत्यु भइसकेको छ । त्यसैगरी ७ हजार ४१ जनामा कोरोना संक्रमण देखिएको शनिबार जनाइएको छ ।
इटालीका विभिन्न २२ वटा सहरमा यसको प्रकोप देखिएको छ । इटालीले देशैभरिका विद्यालय, विश्वविद्यालय बन्द गराएको छ । सरकारले यो भाइरसको नियन्त्रणका विभिन्न कार्यक्रम घोषणा गरी कार्यान्वयन गराएको छ ।
उता संयुक्तराज्य अमेरिकाको फ्लोरिडामा यस प्राणघातक कोरोना जीवाणु (भाइरस) का कारण दुई व्यक्तिको मृत्यु भएपछि यहाँ पनि यस भाइरसबाट शिकार हुनेको संख्या १७ पुगेको बताइएको छ । संयुक्त राज्य अमेरिकामा ३३५ सयभन्दा बढी व्यक्तिमा यस भाइरसको सङ्क्रमण देखिएको छ ।
यस भाइरसको प्रकोपबाट स्पेनमा पनि आठ जनाको ज्यान गएको छ । शनिबार प्राप्त भएको एक समाचारमा त्यहाँ आठको मृत्यु भएको हो ।
स्पेनका स्वास्थ्य अधिकारीहरुले यस भाइरसबाट सङ्क्रमित हुने व्यक्तिको संख्या ४७७ पुगेको छ । यहाँ पनि दिन प्रतिदिन यसका संक्रमितहरुको संख्या बढ्दै गएको छ ।
स्पेनको म्याड्रिड सहरमा नै यसका संक्रमित भेटिएका छन् । स्पेनका स्वास्थ्य अधिकारीहरुले बिहीबारमात्र त्यहाँ १०२ जना नयाँ संक्रमित भेटिएका हुन् ।
राजधानी म्याड्रिड सहरमा शनिबारसम्म १३७ वटा यस भाइरसका संक्रमितहरु उपचारमा रहेका छन् । उक्त सहरमा शनिबारसम्म २४ घन्टाभित्रै दुई जनाको ज्यान गएको छ ।
ती दुईजना मध्ये एकजना ९९ वर्षीया महिला र अर्का ७६ वर्षका बृद्ध पुरुष रहेका छन् । यहाँका अधिकारीहरुले पनि यो भाइरसले बढीजसो बृद्धबृद्धाहरुलाई शिकार बनाउने गरेको अनुभव बताएका छन् ।
यसैगरी प्राप्त समाचारमा यो भाइरसको संक्रमण नेदरल्याण्ड्समा पनि देखिएको छ । नेदरल्याण्ड्समा यसको प्रकोपबाट एकजना बृद्धको ज्यान गएको त्यहाँका स्वास्थ्य अधिकारीहरुले जानकारी दिएका छन् ।
उनीहरुका अनुसार शुक्रबार मात्र नेदरल्याण्ड्समा यस भाइरसबाट एकजना ८६ वर्षीय बृद्धिका ज्यान गएको छ । रोटेड्यामस्थित इकाजेआ अस्पतालमा उपचार गराइरहेका उनको शुक्रबार मृत्यु भएको अधिकारीहरुले जानकारी दिएका छन् ।
नेदरल्याण्ड्समा यो भाइरसको प्रकोपबाट ज्यान जानेमा उनी नै पहिलो व्यक्ति भएको अधिकारीहरुले जानकारी दिएका छन् ।
इरानको स्वास्थ्य मन्त्रालयका प्रवक्ताले यो संक्रमणबाट हरेक दिन नयाँ नयाँ संक्रमित थपिँदै गएका बताएका छन् । यहाँको स्वास्थ्य मन्त्रालयले दिएको जानकारीअनुसार केही दिनमात्र यता यहाँ १ हजार २३४ जना नयाँ संक्रमित थपिएका छन् । नयाँ संक्रमितहरु ठूलो संख्यामा थपिँदै गएकोले अवस्था बडो चिन्ताजनक रहेको पाइएको समाचारमा जनाइएको छ ।
#एएफपी र विभिन्न समाचार एजेन्सीको आधारमा नेपालीको आवाज डटकम डेक्सले तयार पारेको रिपोर्ट ।