
चितवन- रत्ननगर नगरपालिका वडा नं–१०, बैरियामा लामो समयदेखि बस्दै आएका सीमान्तकृत चेपाङलाई आवास निर्माण गरी हस्तान्तरण गरिएको छ । रत्ननगर नगरपालिका र वडा कार्यालयको संयुक्त लगानीमा पक्की घर निर्माण गरी हस्तान्तरण गरिएको हो ।
३० वर्षदेखि यहाँ बस्दै आएका चार परिवारलाई नगरपालिका र वडा कार्यालयले सामूहिक आवास निर्माण गरिदिएको हो । ३० वर्षदेखि भोगचलन गर्दै आएको जग्गामा पक्की घर बनाएर शुक्रबार मेयर नारायण वनले हस्तान्तरण गरेका हुन् ।
विश्रम चेपाङ, कमला चेपाङ, जिते चेपाङ र फूलमाया चेपाङले नयाँ घर पाएका छन् । बैरियामा वडा कार्यालयले आयोजना गरेको कार्यक्रममा मेयर नारायण वन र वडाध्यक्ष केशव आचार्यले घरको साँचो र टेबुल फाइल हस्तान्तरण गरेका थिए । नयाँ घरसँगै वडा कार्यालयले शौचालय र खानेपानीको धारासमेत जडान गरिदिएको छ ।
चारकोठे एकतले भवन निर्माण गरी कोठा विभाजन गरेर चार परिवारलाई हस्तान्तरण गरिएको वडाध्यक्ष आचार्यले बताए । सो अवसरमा मेयर नारायण वनले आर्थिक अवस्थाका कारण घर निर्माण गर्न नसकेका समुदायका लागि नगरपालिकाले आवास निर्माण सुरू गरेको बताए । सकेसम्म नगरपालिकाले नै बनाउने र नसक्ने अवस्था भए दाताहरुको खोजी गरी विपन्न समुदायलाई आवास निर्माण सुरू गरिएको उनले बताए । उनले दुई वर्षको अवधिमा ९० वटा घर निर्माण गरी हस्तान्तरण गरेको जानकारी दिए । वडा नं–७ र ८ मा मुसहर समुदायलाई आवास निर्माण गरिएको उनले बताए ।
केही समयपछि तराई मधेस समृद्धि कार्यक्रमअन्तर्गत वडा नं–१२ का विपन्न १० परिवारका लागि घर निर्माणको काम सुरू हुने मेयर नारायण वनले बताए । खरको छानोमुक्त नगर बनाउने अभियानअन्तर्गत गत आर्थिक वर्षदेखि जस्तापाता वितरण भइरहेको भन्दै उनले विपन्न समुदायलाई शौचालय र सुधारिएको चुलो वितरण गरिरहेको बताए ।
वर्षौंदेखि झुपडीमा बस्दै आएका ८३ वर्षीय विश्राम चेपाङले नयाँ घर पाएपछि खुसी व्यक्त गरेका छन् । ‘हामी ३० वर्षदेखि यहाँ बस्दै आएका छौँ, अहिलेसम्म राम्रो ओत लाग्ने घरमा बस्न पाइएन’, उनले भने, ‘मर्ने बेलामा भए पनि राम्रो घरमा बस्ने सपना सरकारले पूरा गरिदियो ।’
५ लाख ३८ हजारको लगानीमा वडा कार्यालयले चेपाङहरुका लागि आवास निर्माण गरेको हो । सोही वडामा रहेको जनजागृति टोल विकास संस्थाले घर निर्माणको बेला श्रमदान गरेको छ । वडा अध्यक्ष आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा वडा सदस्य कमलबहादुर घिमिरे, जनजागृति टोल विकास संस्थाका अध्यक्ष एकबहादुर जिसीलगायतले मन्तव्य राखेका थिए ।