चितवन- ट्राफिक प्रहरीले चितवन जिल्लामा रहेका एम्बुलेन्स चालकहरुलाई ट्राफिक नियमसम्बन्धी प्रशिक्षण दिएको छ ।
ट्राफिक नियम उल्लङ्घनका कारण सवारी दुर्घटना कम हुन नसकेको भन्दै एम्बुलेन्स चालकलाई ट्राफिक नियमसम्बन्धी प्रशिक्षण दिइएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जनाएको छ ।
‘मानव जीवनसँग प्रत्यक्ष जोडिएको पेसा भएकोले एम्बुलेन्स चालकलाई प्रशिक्षण गराइएको हो,’ प्रहरी निरीक्षक दयाकृष्ण भट्टले भने, ‘एम्बुलेन्सको गति अन्य सवारीसाधनको भन्दा तीव्र हुने भएकोले ट्राफिक नियमको बढी ख्याल गर्नुपर्छ ।’
ट्राफिक प्रहरीले संयुक्त एम्बुलेन्स चालक संघसँगको समन्वयमा जिल्लामा रहेका करिब ५० जना चालकलाई ट्राफिक नियमबारे जानकारी दिएको हो । जुनसुकै सवारीसाधन पनि चारवटा कमजोरीका कारण दुर्घटनामा पर्न सक्ने हुँदा सवारीसाधनको सधैँ ख्याल गर्न उनले सुझाव दिए ।
‘मानवीय, यान्त्रिक, सडक र प्रकृति, यी चार कारणले बढी दुर्घटना हुन सक्छ,’ उनले भने, ‘त्यसैले सबैभन्दा पहिले आफू स्वस्थ र सुरक्षित हुनुप¥यो, त्यसपछि आफूले चलाउने साधन कस्तो अवस्थामा छ भन्ने कुराको विशेष ख्याल राख्नुपर्छ ।’
सडकको अवस्थालाई हेरेर सवारी चलाउन पनि उनले आग्रह गरे । ‘कहिलेकाहीँ प्रकृतिले गर्दा पनि दुर्घटना हुन सक्छ,’ उनले थपे, ‘त्यतिबेला मौसम हेरेर हिँड्नुपर्छ ।’ बढी तीव्र गतिमा चल्ने साधन भएकोले ट्राफिक नियम हरसमय पालना गर्नुपर्ने उनले सुझाव दिए ।