-रवि रोषी
चितवन- रत्ननगर ११ मंगलपुरस्थित चेपाङ संरक्षण केन्द्रमा आश्रित चेपाङ बालबालिकालाई समाजसेवी विनोद पोख्रलले भोजनको व्यवस्थासहित रंगको पर्व होली मनाएका छन् । गामबेँसीको चेपाङ केन्द्रमा आश्रित चेपाङ बालबालिकाहरुलाई परम्परागतरुपमा मनाइँदै आएको होली पर्वमा भोजन गराएका हुन् ।

शिक्षाको साथसाथै विद्यार्थी बालबालिकाहरुलाई सांस्कृतिक सम्पदाबाट नजिक राख्न यस्ता परम्परागत पर्वहरु मनाइदिएर जानकारी बाँड्नु आमनागरिकको नैतिक दायित्व भएको हुनाले संलग्न भई सो पर्वलाई रौनकता थप्न समाजसेवी तथा व्यवसायी पोख्रेलले होली पर्वको अवसर पारेर सहभोजको आयोजना गरेको बताए ।

कुनै पनि सम्प्रदायको पर्वलाई हुनेखाने र हुँदाखानेको बीचमा सीमित राख्नु नहुने र हुँदाखानेलाई पनि पर्वको महत्तालाई निरन्तरता दिनको लागि केही हुने र सक्नेले सहयोग गर्नु मानवबीचको सम्बन्धलाई अझ कसिलो राख्नु समाजमा रहेका सबैको कर्तव्य हुने पोख्रेलले बताए ।

होलीको पर्वको अवसरमा भोजन खुवाएर बालबालिकालाई कसरी खुसी बनाउने भन्ने चिन्तामा रहेको समयमा समाजसेवी पोख्रेलको यो सहयोगले १६५ जना बालबालिकाको भोको पेट भरिँदा अवश्य आशीर्वाद मिल्ने भन्दै केन्द्रका अध्यक्ष केपी किरण शर्माले समाजसेवी पोख्रेलप्रति आभार प्रकट गरे ।

तपाईको प्रतिक्रिया