काठमाडौँ- राष्ट्रपति विद्यादेवी भण्डारीले फागुपूर्णिमा (होली)को अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीहरुमा सुख, शान्ति एवं समृद्धिको शुभकामना व्यक्त गरेकी छन् ।

उनले यस पर्वले सबै नेपालीमा खुशी छर्दै मौलिक संस्कृतिको संरक्षण र सम्वद्र्धन गर्न प्रेरणा मिलोस् भन्ने शुभकामना व्यक्त गरेकी राष्ट्रपतिको कार्यालयबाट जारी विज्ञप्तिमा उल्लेख छ ।

रङहरुको पर्वका रुपमा देशैभर उत्साहका साथ मनाइने फागुपूर्णिमा यस वर्ष पहाडी र हिमाली जिल्लामा यही फागुन २६ गते र तराईका जिल्लामा फागुन २७ गते मनाइँदै छ ।

राष्ट्रपति भण्डारीले सांस्कृतिक विविधतायुक्त नेपाली समाजमा यस पर्वले समस्त नेपालीबीच सामाजिक सद्भाव, सहिष्णुता, राष्ट्रिय एकता र ऐक्यबद्धता कायम राख्न योगदान पु¥याउने छ भन्ने विश्वास व्यक्त गरेकी छन् ।

यसैगरी, नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नेपालको पहाड र तराईमा हर्षोल्लासका साथ खेलिने होली पर्वको अवसरमा सबैमा शुभकामना व्यक्त गरेका छन् ।

उनले आज एक विज्ञप्ति जारी गरी होली पर्व धार्मिक तथा सांस्कृतिक पर्व भएको र अन्यायमाथि न्यायको विजयको शाश्वत सन्देश दिने यो पर्वलाई नेपाली समाजले पारिवारिक स्नेह, सामाजिक सद्भाव, आपसी सहयोग र पारस्परिक एकताको रूपमा मनाउँदै आएको उल्लेख गरेका छन् ।

सभापति देउवाले वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आएको होली पर्व मुलुकलाई शान्ति, एकता, पारस्परिक विश्वास, उच्चतम सामाजिक–नैतिक मूल्य–मान्यता र समृृद्धिको बाटोतर्फ लैजान सबैलाई प्रेरित गरोस् भन्ने शुभकामना व्यक्त गरेका छन् ।

यसैबीच, वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले फागुपूर्णिमाका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमा सुख, शान्ति एवं समृद्धिको शुभकामना व्यक्त गरेका छन् ।

यहाँ आज शुभकामना सन्देश जारी गर्दै उनले पर्वले समाजमा भाइचारा र सद्भाव स्थापित गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्दै सत्य, न्याय र निष्ठाका पक्षमा लागिरहन प्रेरित गरेको उल्लेख गरेका छन् । मुख्यमन्त्री पौडेलले सन्देशमा परिवारबीचमा खुशी साटासाट गरेर पर्व मनाउन अनुरोध गरेका छन् ।

यसैगरी, गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले फागुपूर्णिमा (होलीपर्व)का अवसरमा स्वेदश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपालीमा सुख, शान्ति, समृद्धि एवं सुवास्थ्यको शुभकामना व्यक्त गरेका छन् ।

आज शुभकामना सन्देश जारी गर्दै उनले पर्वले एकआपसमा बन्धुत्व, प्रेम र आपसी सद्भाव बढाई शान्त, समृद्ध एवं समुन्नत नेपाल बनाउन सबैमा प्रेरणा प्रदान गर्न सकोस् भन्ने कामनासमेत गरेका छन् ।

बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक एवं भौगोलिक विविधताले भरिपूर्ण हाम्रो देश संविधानतः धर्मनिरपेक्ष राष्ट्र घोषणा भएका सन्दर्भमा यस्ता विविधतायुक्त सांस्कृतिक चाडपर्वले सामाजिक एकता, सद्भाव, धार्मिक सहिष्णुता कायम राख्दै राष्ट्रिय एकतालाई अझै मजबुत बनाउन महत्वपूर्ण योग्दान दिँदै आएको सन्देशमा मुख्यमन्त्री गुरुङले उल्लेख गरेका छन् ।

यस्तै, प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले आपसी भाइचारा र सद्भावका रुपमा शान्तिपूर्ण ढङ्गले हर्षोल्लासपूर्वक होली पर्व मनाउन आह्वान गरेका छन् ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयद्वारा जारी विज्ञप्तिमा उनले देश–विदेशमा रहनुभएका सम्पूर्ण नेपालीलाई शुभकामना व्यक्त गर्दै सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोतर प्रगतिको कामना गरेका छन् ।

जनकपुरको ऐतिहासिक तथा सांस्कृतिक धरोहरका रूपमा रहेको मध्यमिथिला डोला परिक्रममा सहभागी हुनुभएका सम्पूर्ण साधुसन्त एवं धर्मानुरागीमा मुख्यमन्त्री राउतले विज्ञप्तिमार्फत शुभकामना दिएका हुन् ।

यस्तै, प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले रङहरुको पर्व होलीले एकापसमा सद्भाव, भ्रातृत्व र मेलमिलापको सम्बन्धलाई बलियो बनाउँदै आएको बताएका छन् ।

आज शुभकामना विज्ञप्ति जारी गरी उनले विविधतायुक्त समाजलाई एकतामा बाँध्दै समाजिक सम्बन्धलाई बलियो बनाउन होलीपर्वको विशेष महत्व रहेको उल्लेख गरे ।

मुख्यमन्त्री पोखरेलले शुभकामनामा कोरोना भाइरस (कोभिड–१९) को सम्भावित जोखिमलाई ध्यान दिँदै होली ठूला जमघटमा नभई पारिवारिकरूपमा मनाउन आग्रह गरेका छन् ।

तपाईको प्रतिक्रिया