चितवन- पूर्वी चितवनको रत्ननगर १ स्थित बकुलहर चोकमा आर्थिक अवस्था कमजोर भएका व्यक्तिहरुलाई लक्षित गरी युनिक युथ निःशुल्क उपहार घर स्थापना गरिएको छ । रत्ननगर–१० मा रहेको युनिक युथ क्लबले कमजोर आर्थिक अवस्था भएका व्यक्तिहरुले सजिलै लत्ताकपडा लैजान सक्ने व्यवस्थास्वरुप उपहार घर स्थापना गरेको हो ।

रत्ननगरको बकुलहर चोकमा स्थापना गरिएको सो उपहार घरमा बालबालिकादेखि वृद्धसम्मले लगाउन मिल्ने कपडा राखिएको क्लबका अध्यक्ष विकास पौडेलले जानकारी दिए । सो उपहार घरको उद्घाटन गर्दै रत्ननगरका मेयर नारायण वनले सामाजिक सेवामा क्रियाशील क्लबले स्थापना गरेको उपहार घरबाट विपन्न बर्गका मानिस लाभान्वित हुने विश्वास व्यक्त गरे ।

उपहार घर स्थापनाका लागि रत्ननगर नगरपालिका, वडा नं–१० वडा कार्यालय, रत्ननगर उद्योग वाणिज्य संघ, बाघमारा मध्यवर्ती सामुदायिक वन, गण्डकी विकास बैंकले आर्थिक सहयोग गरेका छन् । स्थानीय जनजागृति टोल विकास संस्थाले उपहार घर निर्माणका क्रममा अन्य सहयोग गरेको छ ।

५३ हजारको लगानीमा निर्माण गरेको सो घरमा विभिन्न ठाउँबाट कपडा संकलन गरी राखिने छ । पहिलो चरणमा लत्ताकपडा राखिएको र दोस्रो चरणमा जुत्ता, झोला, छाता र रेनकोटलगायतका सामग्रीहरु राख्ने योजना रहेको क्लबका अध्यक्ष पौडेलले जानकारी दिए ।

उद्घाटन कार्यक्रममा वडा नं–१० का वडाध्यक्ष केशव आचार्य, वडा नं–२ का वडाध्यक्ष तिलक शर्मा पौडेल, कार्यपालिका सदस्य राजेन्द्र हमाल, वडा सदस्यहरु सीता भेटवाल, रमा भट्टराई, जनजागृति टोल विकास संस्थाका अध्यक्ष एकबहादुर जिसी, सामाजिक अभियन्ता ज्ञानेन्द्रराज पाण्डे, सक्षम आमा समूहकी अध्यक्ष विन्दा खड्कालगायतको सहभागिता रहेको थियो ।

क्लबका अध्यक्ष पौडेलको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रम सचिव सुदीप पाण्डेले सञ्चालन गरेका थिए ।

तपाईको प्रतिक्रिया