चितवन- पत्रकार वसन्त पराजुरीद्वारा लिखित कुमाता कथासंग्रह सोमबार एक कार्यक्रमबीच विमोचन गरिएको छ । नेपाल लघुकथा समाजका अध्यक्ष एवं गोरखापत्र दैनिकका प्रधान सम्पादक श्रीओम श्रेष्ठ रोदन र कथाकारकी आमा गोमा पराजुलीले सो कथासंग्रहको संयुक्त विमोचन गरेका हुन् ।

अक्षर समूहको आयोजनामा भएको कृति विमोचन कार्यक्रममा बोल्दै श्रेष्ठले सिर्जनामा विश्वास गर्ने मान्छे उमेरले कहिल्यै नमर्ने दाबी गरे ।

“क्षणिकले केही हुँदैन साहित्यमा बाँचुञ्जेल साधना गर्न सक्नुपर्छ”, उनले भने । उनले समाजको हितका लागि साहित्य हुनुपर्ने धारणा राख्दै साहित्य क्षेत्रमा देखिएका कमीकमजोरीलाई सुधारेर लैजानुपर्ने आवश्यकता औँल्याए ।

कार्यक्रमा पुस्तकमाथि समीक्षा गर्दै प्रा.डा. एकनारायण पौडेलले कुनै पनि सत्यताभित्र कल्पना जोडेर गरिने रचना पाठकका लागि रुचिकर हुने धारणा राखे । कार्यक्रममा कथाकार डा. हरिहर पौडेल, कथाकार एल बी क्षेत्री, साहित्यकार भूपिनलगायतले कथासंग्रहको विषयमा टिप्पणी गरेका थिए ।

सामाजिक यथार्थवादी विषयवस्तुहरु समेटेर तयार पारिएको पराजुलीको कथासङ्ग्रहलाई भुँडीपुराण प्रकाशन प्रालिले बजारमा ल्याएको हो । ‘कुमाता’मा सङ्ग्रहित दस कथाहरु फरकफरक विषयवस्तुका छन् । कथाहरुले नेपाली समाजलाई जीवन्तरुपमा उतार्ने प्रयास गरिएको पत्रकार एवं कथाकार वसन्त पराजुलीले जानकारी दिए ।

“कथामा समेटिएका विषयवस्तु र पात्रहरु हाम्रै छरछिमेक र समाजमा घटेका घटनाजस्ता लाग्छन् त्यसैले कुमाता कथासङ्ग्रहभित्रका कथाहरु हरेक व्यक्तिले आफ्नै समस्या हो कि भन्ने महसुस गर्छ”, पराजुलीले भने ।

गरिबी, वैदेशिक रोजगारी, प्रेम, विश्वास, यौन, धोका, जेलजस्ता सन्दर्भहरु कथाका वरिपरि रहेका छन् । यी कथाहरुले कतिपय समाजमा देखिएका र कतिपय नदेखिएका सत्यलाई पनि उजागर गरेका छन् । अक्षर समूहका अध्यक्ष प्रभाकर पण्डितको अध्यक्षतामा सो कार्यक्रममा सम्पन्न भएको थियो ।

तपाईको प्रतिक्रिया