
चितवन- भरतपुर–७ कृष्णपुरस्थित सनराइज टोल विकास संस्थाअन्तर्गत सगरमाथा मार्गको बाटो निर्माण कार्य सम्पन्न भएको छ ।
प्रतिनिधिसभाका सांसद् कृष्णभक्त पोखरेलको निर्वाचन क्षेत्र बजेटबाट प्राप्त रकमले सो मार्गको करिब १३५ मिटर बाटो निर्माण कार्य सम्पन्न भएको हो । सांसद् पोखरेलले सो बाटो निर्माणका लागि १२ लाख ५० हजार रुपैयाँ विनियोजन गरेका थिए ।
भरतपुर महानगरले सो बाटोको लागि १५ लाख रुपैयाँको लागत इस्टिमेट तयार पारे पनि बाँकी रकम जनसहभागिताबाट जुटाइएको उपभोक्ता समितिका अध्यक्ष हरिप्रसाद पोखरेलले जानकारी दिए ।
सोमबार उपभोक्ता समितिद्वारा आयोजित खर्च सार्वजनिकीकरण कार्यक्रममा नवनिर्मित सगरमाथा मार्गको सांसद् पोखरेलले निरीक्षण गरेका थिए । कार्यक्रममा सांसद् पोखरेलले उपभोक्ताले नमुना बाटो बनाएकोमा खुसी व्यक्त गरे ।
कार्यक्रममा भरतपुर ७ का अध्यक्ष राजेन्द्रमणि काफ्ले, चित्रवन साकोसका अध्यक्ष सन्तबहादुर गुरुङ, सनराइज टोल विकास संस्थाका अध्यक्ष बाबुराम देवकोटा, सल्लाहकार भीमसेन देवकोटा, कृष्णबहादुर रानाभाटलगायतले मन्तव्य राखेका थिए ।