पोखरा- फेवातालमा सोमबार मध्यान्ह कार खस्दा ४ जना घाइते भएका छन् । खपौदीबाट लेकसाइडतर्फ आउँदै गरेको ग२च ६९१२ नम्बरको कार सोमबार बिहान ११ः३० मा सेदीबाट तालमा खस्दा ४ जना सामान्य घाइते भएका हुन् । कार घुम्तीमा मोड्नेक्रममा १ सय मिटर तल खसेर दुर्घटनाग्रस्त भएको वडा प्रहरी कार्यालय, बैदामले जनाएको छ ।

दुर्घटनामा परी घाइते हुनेमा पोखरा–६, लेकसाइडका ३२ वर्षे चिरण बस्नेत, वर्ष ३१ का सञ्जय यादव, कारचालक ३७ वर्षीय राजु पहारी र उनकी २ वर्षीया छोरी राविया पहारी छन् । उनीहरु होली मनाएर फर्किने क्रममा दुर्घटनामा परेका हुन् । घाइतेको पोखराको सिर्जनाचोकस्थित मेट्रो सिटी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनायो ।उता, पोखरा–१८, सेदीफाँट गैराको चौतारामा सोमवार दिउँसो सवारी दुर्घटना हुँदा एक युवक गम्भीर घाइते भएका छन् ।

ग १ख ३९९० नं को बस र ग१प ४५३५ नं को मोटरसाइकल दिउँसो ३ः२० मा आपसमा ठक्कर खाँदा मोटरसाइकल चालक पर्वत जलजला गाउँपालिका घर भई हाल पोखरा–१९, लामाचौर बस्दै आएका १९ वर्षीय रोजित पुनमगर गम्भीर घाइते भएका छन् । घाइते पुनमगरको मेट्रोसिटी अस्पताल पोखरामा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायव उपरीक्षक राजकुमार केसीले बताए । घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

तपाईको प्रतिक्रिया