चितवन- रत्ननगर नगरपालिकामा मुद्दाको फैसला र मेलमिलाप प्रभावकारी देखिएको छ । रत्ननगरको न्यायिक समितिमा दर्ता भएका मुद्दामध्ये ६० प्रतिशत मेलमिलापमा टुंगिएको, ३० प्रतिशत फैसला भएको र दस प्रतिशतमात्रै अदालत पठाउने गरिएको उपमेयर एवं न्यायिक समितिकी संयोजक बिमला दुवाडीले बताएकी छन् ।

नगरस्तरमा रहेको मेलमिलाप केन्द्रले टुङ्ग्याउन नसकेको मुद्दा न्यायिक समितिले फैसला गर्ने गर्छ । ‘केन्द्रले मिलाउन नसकेको मुद्दा न्यायिक समितिमा आउँछ’, संयोजक दुवाडीले भनिन्, ‘हामीले ९० प्रतिशत मुद्दा मेलमिलापबाटै समाधान गर्ने गरेका छौँ ।’ सम्बन्धविच्छेदका मुद्दामा सकेसम्म मेलमिलाप गराउने र केही उपाय नलागेमात्र अदालत पठाउने गरिएको उनले बताइन् ।

रत्ननगरमा विशेषगरी घरायसी विवाद, झैझगडा, जग्गा किचलो तथा साँध सिमाना विवाद, अंशबण्डा, सम्बन्ध विच्छेद, लेनदेन, पालन पोषण, शिक्षादीक्षा, मजदुरी, घरभाडा असुलीजस्ता मुद्दाहरु मेलमिलाप र फैसलाबाटै किनारा लगाउने गरिएको उनले बताइन् ।

‘सम्बन्धविच्छेद गराउन आएका श्रीमानश्रीमती पनि सहमति गराएर पठाएका छौँ’, उनले भनिन्, ‘यो हाम्रो ठूलो सफलता पनि हो ।’ न्यायिक समितिमा मुद्दाको चाप बढ्न थालेपछि नगरपालिकाले इजलास बनाएर कार्य सम्पादन गर्न थालेको हो ।

रनपामा ६ महिनामा ४३ मुद्दाको किनारा लगाइएको छ । जसमा २९ वटा मेलमिलाप र १४ वटा इजलासबाट फैसला भएको न्यायिक समितिका सदस्य शालिराम पराजुलीले बताए ।

रत्ननगरमा मेलमिलाप केन्द्रले २०६० साल तथा न्यायिक समितिले २०७४ साल मंसिर महिनाबाट न्यायसम्पादनको काम सुरू गरेको हो ।

तपाईको प्रतिक्रिया