चितवन- नेपाली काँग्रेस रत्ननगरका पूर्व नगरसभापति समरबहादुर मल्लको निधन भएको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टीका चितवन रत्ननगरकार्यसमितिका पूर्वसभापति सम्मरबहादुर मल्लको निधनप्रति दुःख व्यक्त गरेका छन् ।

सभापति देउवाले आज एक शोक विज्ञप्तिमार्फत उनको आत्माको चिरशान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गरेका छन् ।
पूर्वनगरसभापति मल्लको सोमबार राति काठमाडौँको वीरअस्पतालमा उपचारका क्रममा ५६ वर्षको उमरेमा निधन भएको हो ।

मल्ल मिर्गौलासम्बन्धी रोगबाट पीडित थिए । स्व मल्लले काँग्रेसको संगठन र नेपालको लोकतान्त्रिक आन्दोलनमा सक्रिय भूमिका निर्वाह गरेका थिए ।

स्व. मल्लको मंगलबार देवघाटमा दाहसंस्कार गरिएको छ । कांग्रेस जिल्ला सभापति जीतनारायण श्रेष्ठ, पूर्वसांसद् रामकृष्ण घिमिरेलगायतका नेताहरुले पार्टीको झन्डा ओढाएर श्रद्धाञ्जली अर्पण गरेका थिए ।

रत्ननगरका विभिन्न संघसंस्थाहरुमा नेतृत्व प्रदान गरेका मल्ल निष्ठाको राजनीति गर्ने शालिन नेता मानिन्थे । उनको निधनले कांग्रेसमा अपूरणीय क्षति पुगेको भन्दै नगरसभापति रुपनराज घिमिरेले शोक व्यक्त गरेका छन् ।

तपाईको प्रतिक्रिया