काठमाडौँ- सरकारले अत्यावश्यक वस्तुको आपूर्तिमा कुनै समस्या नरहेको दाबी गर्दै अनावश्यक हल्लाको पछि लागेर वस्तु भण्डारण नगर्न सर्वसाधारणलाई आग्रह गरेको छ ।

नेपालमा सङ्क्रमण नरहेको कोरोना भाइरस (कोभिड–१९) को अनावश्यक त्रासका कारण अत्यावश्यक वस्तुको अभाव हुने आशंका उब्जाउन जरुरी नभएको सरकारले प्रष्ट पारेको छ । सरकारले छ महिनासम्म पुग्ने अत्यावश्यकीय वस्तु मौज्दात रहेको भन्दै सर्वसाधारणलाई आश्वस्त पारेको हो ।

“खरिद गर्ने मान्छेले एक महिनालाई चाहिने औषधि चार महिनाको किनिदियो भने हिसाब नमिल्ने भन्दै सरकारका प्रवक्ता डा युवराज खतिवडाले खाद्यान्न र औषधि झण्डै छ महिनाका लागि पुग्ने र इन्धन तीन महिनालाई पुग्नेगरी मौज्दात रहेको जानकारी दिए । कृत्रिम अभाव सिर्जना गर्ने र अस्वभाविक मूल्य असुल गर्नेलाई सामाजिक अपराधका रुपमा कारबाही गर्नेसमेत सरकारले चेतावनी दिएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा आज बसेको कोभिड–१९ को रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकमा औषधिलगायत अत्यावश्यक वस्तुको आपूर्तिको सम्बन्धमा सरोकारवालासँग छलफल भएको थियो । उक्त समितिको संयोजकमा उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेल छन् ।

अर्थमन्त्री एवं सञ्चार तथा सूचना प्रविधिमन्त्रीसमेत रहेका सरकारका प्रवक्ता डा खतिवडाले वस्तुको अभाव हुने भनेर फैलाइएको अनावश्यक हल्लाको पछि नलाग्न नागरिकलाई अनुरोध गरेका छन् ।

बैठकपछि सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै मन्त्री खतिवडाले अन्य वस्तुमा समस्या छैन, केही औषधिजन्य वस्तुमा भारतले प्रतिबन्ध लगाएको सन्दर्भमा भन्सार विन्दुमा आएको वस्तु छुटाउने र अन्य विषयमा कूटनीतिक तहमा वार्ता गरी आवश्यकीय वस्तु अभाव हुन नदिन अनुरोध गरिसकिएको छ, त्यसमा पनि अब समस्या नरहेको बताएका हुन् ।

विभिन्न खालका सूचनाका कारण कोरोना भाइरसको विषयमा अफवाह फैलिरहेको सन्दर्भमा सरकारले सूचना सम्प्रेषण गर्दा सर्वसाधारणलाई त्रसित हुने गरी नगर्न अनुरोध गरेको छ । स्वास्थ्य मन्त्रालयले स्तरीय मापदण्डको आधारमा सूचना प्रवाह गर्ने भएकाले उक्त सूचनालाई आधिकारिक मान्न मन्त्री खतिवडाले सबैलाई आग्रह गरे ।

यसैबीच, कोभिड–१९ को विषयमा सरकारले सबै राजनीतिक दलसँग छलफल गर्ने तयारी गरेको छ । निजी क्षेत्रसँग आवश्यक सहकार्य गरेर अघि बढेको सरकारले राजनीतिक तहमा पनि सहकार्यका लागि सरकारले छलफल गर्न लागेको हो ।

“सबै राजनीतिक दलसँग छलफल गरी सहकार्य रहेको सन्देश दिन छलफलको तयारी गरिएको छ, चाँडै छलफल हुँदैछ”, मन्त्री खतिवडाले बताए ।
यसअघि प्रतिनिधिसभाको बैठकमा नेपाली काँग्रेसका सांसद गगन थापाले कोभिड–१९ को रोकथामको विषयमा जरुरी सार्वजनिक महत्वको प्रस्ताव पेश गरेका थिए ।

प्रस्तावमा एकीकृत कार्ययोजना बनाएर अघि बढ्नुपर्ने आवश्यकता औँल्याइएको थियो । सांसदले उठाएको जिज्ञासामा स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले सरकार वा कसैको एकल प्रयासले रोगको रोकथाम गर्न नसक्ने भन्दै सामूहिक प्रयास र सहकार्य अत्यावश्यक भएको र सरकारले सहकार्यमै जोड दिएको बताएका थिए ।

तपाईको प्रतिक्रिया