
चितवन- दिउँसोको समयमा पण्डित बनेर पूजा गर्दै हिँड्ने र रातिमा चोरी गर्ने गिरोहको नाइकेसहित ६ जनालाई चितवन प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ ।
भरतपुर महानगरपालिका वडा नं २ बेलटाँडीस्थित मञ्जु खाँणको घरबाट चोरी गरिएको सुनका गहनासहित भारत मोतीहारीका १८ वर्षीय नेहाल तिवारी भारतकै पूर्वी चम्पारणका १९ वर्षीय राजनकुमार उपाध्याय, भारत अरेराजका २० वर्षीय बिक्की भनिने सोनुकुमार पाण्डे, भारत मोतीहारीका १९ वर्षीय विपुल भन्ने ऋतिक रोशन, भारत मोतीहारीकै २० वर्षीय बिक्कीकुमार गुप्ता र पर्साको वीरगञ्जमा पलक ज्वैलर्स सञ्चालन गर्ने २५ वर्षीय राजकुमार गुप्तालाई पक्राउ गरी प्रहरीले आज सार्वजनिक गरेको हो ।
उनीहरुको साथबाट सुनको औँठी, नथिया, बिन्दिया, जिउटिया तीनवटा, मंगलसुत्र एउटा, सानो नथुनी आठवटा र फुली एउटासमेत गरी २२.४५ ग्राम सुनको गरगहनाहरु र ४८७ ग्राम चाँदीको पाउजु र दुईवटा मोबाइल बरामद गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक नान्तिराज गुरुङले बताए ।
पक्राउ परेका व्यक्तिहरुलाई डाँका चोरी मुद्दा दर्ता गरी अनुसन्धान प्रक्रिया अगाडि बढाइएको गुरुङले बताए ।
त्यस्तै, चितवन प्रहरीले बुधबार पत्रकार सम्मेलन गर्दै विभिन्न समयमा चोरी भएका करिब चार लाख २९ हजार रुपैयाँ बराबरका २३ थान मोबाइलसमेत मोबाइल धनीलाई फिर्ता गरेको छ ।