काठमाडौँ- अपहरणको नाटक गरी आफ्नै बाबुसँग फिरौती लिएको अभियोगमा बूढीगंगा गाउँपालिका ३ बाँसबारी बस्ने २४ वर्षीय मुकेशकुमार महतोलाई सुनसरीको भन्टाबारीबाट प्रहरीले पक्राउ गरेको छ ।

गत शुक्रबार घरबाट निस्केका मुकेश कुमारले आफ्नो मोबाइलबाट बाबुलाई फोन गरी आफू अपहरणमा परेको बताएका थिए । उनले अपहरणकारीले ३० लाख रूपैयाँ फिरौती मागेको र प्रहरीलाई खबर गरे ज्यान मार्ने धम्की दिएको जानकारी दिँदै गत शुक्रबार र शनिबार अपहरणकारीले आफूलाई लहानमा, आइतबार धनुषाको जनकपुरमा र सोमबार कोशी ब्यारेजको बोर्डर छेउमा राखेको बताएका थिए ।

सोमबार उनका बाबुले २१ लाख रुपैयाँ फिरौतीको रकम दिएका थिए । घटनाको अनुसन्धानको क्रममा प्रहरीले तत्काल उनकै मुन्सी काम गर्ने बूढीगंगा गाउँपालिका ३ बाँसबारी बस्ने २५ वर्षीय कृष्ण राजवंशीलाई फिरौतीको रकमसहित पक्राउ गरेको थियो ।

मुकेश कुमारले आफूले एक वर्षअगाडि ५ लाख रूपैयाँ सापटी लिँदा मिटर व्याजका कारण परिवारले ९६ लाख तिर्नु परेको बयान दिएको प्रहरी अनुसन्धानका क्रममा खुलेको छ ।

मुकेश कुमारले ५० लाखको समेत कागज गरेको र नतिरेमा ज्यान मार्ने धम्की दिएकोले घरपरिवारबाट पैसा माग्न लाज लागेर आफूले अपहरणको नाटक गरेको बताएका थिए ।

तपाईको प्रतिक्रिया