चितवन- बारा जिल्लाको कोल्बी नगरपालिका वडा नं ८ घर भई चितवनको राप्ती-७, भण्डारामा डेरागरी बस्ने ३१ वर्षीय गुरुप्रसाद चौधरी लागूऔषधसहित पक्राउ परेका छन् ।

खैरहनी-२, चैनपुरचोकको प्रतीक्षालयमा लागूऔषधको कारोबार हुन लागेको गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय खैरहनीबाट खटिएको प्रहरी टोलीले बुधबार बिहान ८ः४५ बजेको समयमा निजले प्रतीक्षालय नजिक पार्किङ गरेको ग ८ प ८०८५ नम्बरको स्कुटी चेकजाँचका क्रममा लागूऔषध फेला पारेको हो ।

स्कुटीको डिक्कीभित्र नाइट्रोभेट १० लेखिएको २७० ट्याब्लेट, निजले प्रयोग गर्ने गरेको एक थान मोबाइलसहित निजलाई पक्राउ गरी जिल्ला अदालतबाट म्याद थप गरी लागूऔषध कसुरमा मुद्दा चलाइएको प्रहरीले जनाएको छ । निज चौधरी पूर्वसशस्त्र प्रहरीका जवान रहेको खुलेको छ ।

यसैगरी, गत सोमबार बेलुकी ५ बजेको समयमा रत्ननगर २ स्थित बूढीकुलोको खोल्साबाट रत्ननगर १ का २४ वर्षीय मनोज महतो र रत्ननगर ४ का सुजन महतो लागूऔषधसहित पक्राउ परेका छन् ।

सुजन महतोको साथबाट नाइट्रोभेट १० लेखिएको ३० ट्याब्लेट, रेडमी मोबाइल र नगद ४ हजार ३ सय तथा मनोज महतोको साथबाट नाइट्रोभेट १० लेखिएको ७७ ट्याब्लेट, सामसङ मोबाइल र नगद १५ हजार ३ सयसहित निजहरु बसेको भुँइबाट प्लाष्टिकको पोकामा राखिएको १५३ ग्राम गाँजासहित पक्राउ गरी लागूऔषध कसुरमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया