चितवन- पूर्वअर्थमन्त्री तथा प्रतिनिधिसभा सांसद् सुरेन्द्र पाण्डेले बुधबार रत्ननगरमा धर्मशालाको शिलान्यास गरेका छन् ।
रत्ननगर-१, निपनीमा रहेको हरिहर गायत्री मन्दिर संरक्षण समितिले निर्माण गर्न लागेको धर्मशालाको पूर्वअर्थमन्त्री पाण्डेले शिलान्यास गरेका हुन् ।
सो अवसरमा उनले संविधानले सबै धर्मलाई उत्तिकै महत्त्व दिएको बताए । मुलुक धर्मनिरपेक्षता भए पनि संविधानले कुनै धर्मलाई बन्देज नगरेको उनको भनाइ थियो ।
आफ्नो इच्छाबमोजिम सबैले सबै किसिमका धर्म मान्न पाउने अधिकार संविधानले स्थापित गरेको भन्दै उनले परम्परागतरुपमा चलिआएको सनातन हिन्दु धर्मलाई संविधानले संकोचित नबनाएको बताए ।
कार्यक्रममा प्रदेश सांसद् कृष्णप्रसाद खनालले धार्मिक क्षेत्रलाई पर्यटनसँग जोडेर आम्दानीको स्रोत बनाउनुपर्ने बताए । प्रदेश सांसद् कन्चन खनालले धर्मशाला निर्माणको लागि प्रदेश सरकारले आगामी दिनमा पनि सहयोग गर्ने बताइन् ।
संरक्षण समितिले ९ करोड ९७ लाख ६५ हजारको लगानीमा पाँच तले सुविधासम्पन्न धर्मशाला निर्माण गर्ने योजना रहेको निर्माण समितिका संयोजक शंकर गिरीले जानकारी दिए ।
पहिलो चरणमा प्रदेश सरकारको २० लाख र मन्दिरको ५० लाख गरी ७० लाखको बजेटबाट धर्मशालाको भवन निर्माण सुरु गरिने उनले बताए । धर्मशाला निर्माण सम्पन्न गर्न केन्द्र सरकार,प्रदेश सरकार,स्थानीय सरकार सहित दाताहरुको सहयोग लिइने छ ।
शिलान्यास कार्यक्रममा पूर्वशिक्षामन्त्री शेषनाथ अधिकारी, पूर्वगृहराज्यमन्त्री दीपकप्रकाश बास्कोटा,रत्ननगर नगरपालिकाकी उपमेयर विमला दुवाडी, समाजसेवी राजेन्द्र बुर्लाकोटी, नेकपा रत्ननगरका नगरअध्यक्ष कुलप्रसाद लामिछाने, नेपाली काँग्रेस रत्ननगरका नगर सभापति रुपनराज घिमिरेलगायतले मन्तव्य राखेका थिए ।
कार्यक्रम मन्दिर संरक्षण समितिका अध्यक्ष नेमराज पौडेलको अध्यक्षतामा भएको थियो ।