चितवन- चितवनमा रहेका न्यौपाने बन्धुहरुको अगुवा टोलीले आफ्ना पूर्वजहरुको जन्मस्थानको खोजी गर्ने क्रममा लमजुङ पुगेर स्थलगत अध्ययन गरेको छ । नेपाल स्काउट एण्ड गाइड फेलोसिप नेपालका राष्ट्रिय उपाध्यक्ष तीर्थराज न्यौपानेको अग्रसरतामा डा विजयराज न्यौपाने, कृष्णराज न्यौपाने, रामराजा न्यौपाने, प्रकाशराज न्यौपाने, सरोजराज न्यौपानेसहितको टोलीले आफ्ना पुर्खाहरुको जन्मस्थल खोजी गर्ने सिलसिलामा लमजुङको दुराडाँडा, धारापानी पुगी पूर्वप्रधानपञ्च एवं समाजसेवी पूर्णभद्र न्यौपाने, भीमलाल न्यौपाने, प्रेम न्यौपानेलगायतसँग अन्तरक्रिया गरेको छ ।

सो टोलीले आफ्ना पुर्खाहरुको इतिहास र जन्मथलोको विवरण संकलन गरेको हो । सो टोली दुराडाँडामा पुगेर पूर्णभक्त न्यौपाने र प्रधानाध्यापक करुणभक्त अधिकारी, जगन्नाथ न्यौपानेलगायतका महानुभावसँग दुराडाँडाको समग्र वस्तुस्थितबारे जानकारी लिएको टोलीका अगुवा तीर्थराज न्यौपानेले जानकारी दिए ।

सो अवसरमा पूर्णभक्त न्यौपानेले दुराडाँडामा खजेदुराको सक्रियतामा विसं १९५० मा दुराडाँडामा राजाको स्थापना गरेपछि नेता एवं समाजसेवी श्रीकान्त अधिकारीले २००९ सालमा सर्वोदय माविको स्थापनासँगै नौवटा प्राविको समेत स्थापना गरी कुन्छाको सदरमुकाम लमजुङको बीच बेसीसहरमा सार्ने काम गरेकाले उनको शिक्षामा अत्यन्त महत्त्वपूर्ण योगदान रहेको चर्चा गरे ।

२००९ सालमा दुराडाँडामा स्थापित शिक्षाका कारणले छिमेकी जिल्ला कास्की, तनहुँ र गोरखामा समेत राम्रो प्रभाव परेकोले दुराडाँडा शिक्षाको ज्योति फैलाउने ऐतिहासिक स्थान भएको पूर्णभक्त न्यौपानेले बताए ।

उक्त टोलीले लमजुङको घलेगाउँ, बन्दीपुरलगायतका सांस्कृतिक एवम् पर्यटकीय क्षेत्रहरुको अवलोकन गरेको थियो । पुर्खाहरुको जन्मथलो अवलोकनपश्चात् डा विजयराज न्यौपानेले पुर्खाहरुको स्मरणका लागि गर्न सकिने कामबारे छलफल गरेका थिए । टोलीले जन्मथलोमा गर्ने योजनाका लागि बृहत छलफल र अन्तरक्रिया गरी निकट भविष्यमा रचनात्मक काम गर्ने जनाएको छ ।

तपाईको प्रतिक्रिया