चितवन- चितवनको विकट पहाडी क्षेत्र इच्छाकामना गाउँपालिका वडा न १ र २ को हात्तीवाङ्ग र हपनी काउलेस्थित अगुवा चेपाङ महिला पैरवी मञ्चको आयोजनामा वडाका जनप्रतिनिधि एवं अन्य सरोकारवालाहरु निकायसँग चेपाङ महिलाहरुको नेतृत्व विकास, जवाफदेहिता प्रर्वद्धनका लागि अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

अति सीमान्तकृत चेपाङ समुदायको महिलाहरुको नेतृत्व विकास र सशक्तीकरण गर्दै शिक्षा, स्वास्थ्य, आयआर्जनलगायत मानवअधिकारको रक्षा गर्न, स्थानीय सरकार र अन्य गैरसरकारी सरोकारवाला निकायहरुसँग सम्पर्क र सम्बन्ध विस्तार गर्न, स्थानीय योजना निर्माण प्रक्रियामा चेपाङहरुको अर्थपूर्ण सहभागिता अभिवृद्धि गर्ने उद्देश्यले कार्यक्रम गरिएको हो ।

अशिक्षा र चेतनाको कमीले गर्दा चेपाङ समुदायमा विद्यमान बालविवाह, बहुविवाह, महिला हिंसाजस्ता असामाजिक क्रियालापहरुविरुद्ध जनचेतना अभिवृद्धि गर्न, स्थानीय तहका हरेक निकायमा सीमान्तकृत चेपाङ महिलाहरुको अर्थपूर्ण सहभागिताको सुनिश्चितता प्रदान गर्न सरोकारवाला निकायको जवाफदेहिता बढाउने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको डेक–नेपालका कार्यक्रम निर्देशक जनक कार्कीले बताए ।

कार्यक्रममा बोल्दै अगुवा चेपाङ महिला पैरवी मञ्च सदस्य दलमाया चेपाङले विद्यालयमा चेपाङको बच्चाहरुलाई कुट्ने, पिट्ने, हेप्ने र असमान व्यवहार गरेकोले विद्यालय जान नमानेको बताइन् । यस्तै, अर्का सदस्य डल्लीमाया चेपाङले स्वास्थ्यचौकीमा ४३ प्रकारका औषधिहरु पाइने भनेता पनि थोरैमात्र पाइने गरेको बताइन् ।

इच्छाकामना-१ का अध्यक्ष सुजता चेपाङले चेपाङ महिलाहरु सोझो बोल्न नसक्ने भएको हुनाले आफूले पाउने सेवासुविधाबाट वन्चित हुन परेको बताइन् । पैरवी मञ्च सदस्य सीता चेपाङले जाँडरक्सी जुवातासले गाउँका मानिसहरुलाई बिगारेकोले वडाध्यक्ष र टोल विकास संस्थाका अध्यक्षलाई जुवातास खेल्नेलाई कारबाही गर्नुपर्ने बताइन् ।

इच्छाकामना-२ हपनीका अगुवा चेपाङ महिला पैरवी मञ्च सदस्य भोगोलिक विकटताको कारण प्रभावकारी सूचना नहुँदा अधिकांश कार्यक्रमहरुमा उनीहरुको सहभागिता नहुने बताइन् । साथै, गाउँपालिकाले गरेको कार्यक्रममा चेपाङहरुलाई समावेश नगराएको बताइन् ।

इच्छाकामना-२ वडाध्यक्षले पञ्च चेपाङले चेपाङहरुमा शिक्षा र चेतनास्तरको कमी भएको कारण बालविवाह, बहुविवाह, महिला हिंसा हुने गरेको आफूहरु अन्य समुदायभन्दा पछाडि परेको र स्थानीय निकायले पनि चेपाङको विकासका मागलाई बेवास्था गर्ने गरेको बताए ।

इच्छाकामना-१ का वडाध्यक्ष नन्दलाल गिरीले आगामी दिनमा चेपाङ बस्तीमा जाने शाखा बाटोहरुको निर्माणलाई प्राथमिकता दिने जाँडरक्सी जुवातास र बालविवाहविरुद्ध अभियान चलाउनुपर्ने बताए ।

डेक–नेपालद्वरा अन्डेफको सहयोगमा संचालित लैङ्गिक उत्तरदायी सुशासन प्रर्वद्धनका लागि युवा चेपाङ महिला अगुवाहरुको सशक्तीकरण कार्यक्रमअन्तर्गत गठन गरेका अगुवा चेपाङ महिला पैरवी मञ्चको आयोजना तथा नेपाल चेपाङ संघको समन्वयमा ईच्छाकामना गाउँपालिका वडा नं १ र २ का अगुवा चेपाङ महिला पैरवी मञ्चका अध्यक्षको अध्यक्षतामा ईच्छाकामना गाँउपालिका १ र २ का वडाध्यक्षहरुको प्रमुख आतिथ्यतामा यही फागुन २३ र २४ गते अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको थियो ।

कार्यक्रममा वडाका निर्वाचन वडा सदस्यहरु, महिला सदस्य टोल विकास संस्थाका अध्यक्ष, नेपाल चेपाङ संघका, गाउँपालिका अध्यक्ष, प्रदेश सचिव, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, विद्यालयका प्रधानाध्यापक,सामुदायिक वन उपभोक्ता समिति, खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका पदाधिकारी, स्थानीय श्रोत व्यक्तिहरु, राजनीतिक दलका प्रतिनिधिलगायत ८५ जनाको सहभागिता रहेको थियो । कार्यक्रम अगुवा चेपाङ महिला पैरवी मञ्चका स्थानीय श्रोत व्यक्तिहरुले सञ्चालन गरेका थिए ।

तपाईको प्रतिक्रिया