काठमाडौँ- भारतले कोरोना भाइरसको संक्रमण फैलन नदिन एक महिनाको लागि भिसा बन्द गरी सीमामा कडाइ गर्ने निर्णय लिएको छ । मध्यराति १२ बजेबाट लागू हुने गरी अप्रिल १५ सम्मका लागि भारतले भिसा बन्द गरी सीमामा कडाई गर्ने निर्णय लिएको हो ।

तर, यो निर्णयले नेपाल र भुटानलाई भने कुनै असर नगर्ने भएको छ । नेपाल र भुटानका नागरिकलाई भारत प्रवेश गर्न भिसा चाहिँदैन । इन्डियन एक्सप्रेसका अनुसार भारतले विदेशीलाई भिसा रद्द गरेको हो ।

अब कुनै पनि विदेशी पर्यटक भारत प्रवेश गर्न पाउने छैनन् । आफ्ना नागरिकलाई समेत विदेश यात्रा नगर्न भन्दै स्थल सीमा जोडिएका देशहरुबाट समेत यात्रा प्रतिबन्ध लगाउँदै निश्चित चेकप्वाइन्टमा निगरानी र चेकजाँचलाई अझ चुस्त दुरुस्त बनाउने निर्णय लिएको छ ।

मानिसको यात्रामा कडाइ गरिने भएको छ । कोरोना भाइरस सर्न नदिन यस्तो निर्णय लिइएको जनाइएको छ । विश्व स्वास्थ्य संगठनले कोरोना भाइरसलाई महामारी घोषणा गरेपछि भारतले बुधबार साँझ नै कडा निर्णय लिएको हो ।

भारतले अहिले भइरहेको भिसा, कूटनीतिक, अन्तर्राष्ट्रिय संघसंस्था, रोजगार, प्रोजेक्ट भिसालाई भने रद्द नगर्ने भएको छ । उसले गैरआवास्यि भारतीय कार्डधारीलाई निःशुल्क यात्रा भिसा दिदै आएकोमा एक महिनाका लागि रद्द गरेको छ । यो सबै निर्णय शुक्रबारबाट लागू हुनेछ ।

भारतमा कोरोना भाइरसको संक्रमण बढिरहेको छ । बुधबारसम्म ६० जनालाई भाइरसको संक्रमण देखिएको थियो । संक्रमितहरुमा भारत प्रवेश गरेका विदेशी र विदेशबाट भारत पुगेका भारतीय नागरिक नै छन् ।

तपाईको प्रतिक्रिया