चितवन- पश्चिम चितवनमा रहेको रामपुर माध्यमिक विद्यालयमा भूतपूर्व विद्यार्थीहरुको संगठन गठन गरिएको छ ।

पूर्वविद्यार्थीहरुको भेलाले भूतपूर्व विद्यार्थी संगठन गठन गरिएको हो । भरतपुर महानगरपालिका १५ मा स्थित विद्यालयमा बिहीबार बसेको भेलाले श्रीकृष्ण देवकोटाको संयोजकत्वमा समिति गठन गरिएको छ । भेलाले ३४ सदस्यीय तदर्थ समिति गठन गरेको हो ।

समितिको उपाध्यक्षमा शान्ता अधिकारी, सचिवमा अनिल ढकाल र कोषाध्यक्षमा इन्दिरा ढकाल चयन भएका छन् । त्यस्तै, पूर्वविद्यार्थीहरुलाई सहभागी गराउनका लागि पूर्वविद्यार्थी मणि पण्डित र विद्यालयका सहप्रधानाध्यापक प्रदीप काफ्लेलाई आइटी संयोजकको जिम्मेवारी दिएको छ ।

समितिले सम्पूर्ण विद्यार्थीहरुको भेला गर्ने निर्णय गरेको छ । संयोजक देवकोटाले विद्यालयको अवस्था उकास्नका लागि पूर्वविद्यार्थीहरुले सहयोग र समन्वय गर्ने प्रतिबद्धता जनाएका छन् । भेलामा विद्यालयबाट प्रवेशिका परिक्षा दिने पहिलो सत्रदेखि पछिल्लो समूहका विद्यार्थीहरु सहभागी थियो ।

कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पूर्णबहादुर गुरुङले पूर्वविद्यार्थीहरुको सहभागिताले विद्यालयले काँचुली फेर्ने विश्वास व्यक्त गरे । सहयोग समन्वयबिना विद्यालयले प्रगति गर्न गाह्रो भएको भन्दै पूर्वविद्यार्थीको विद्यालयप्रतिको मायाले शैक्षिक कार्यक्रम प्रभावकारी हुने बताए ।

त्यस्तै, विद्यालयका प्रधानाध्यापक शिवहरि पण्डितले शैक्षिक गुणस्तरका लागि हातेमालो आवश्यक रहेको बताए । विद्यालयको प्रगतिको लागि पूर्वविद्यार्थीको सहकार्यले प्रभावकारिता ल्याउने बताए ।

२०३४ सालमा तत्कालीन अवस्थामा त्रिभुवन विश्वविद्यालयको कृषि तथा पशुविज्ञान अध्ययन संस्थानले आफ्ना कर्मचारीका बालबालिका अध्ययन गराउने सुविधाको लागि विद्यालय स्थापना गरेको हो । त्यसबेला निजी विद्यालयबाट अध्ययन गर्न विद्यार्थी रामपुर मावि जाने गर्थे । पश्चिम चितवनमा निजीसँगको प्रतिस्पर्धामा रामपुर माविले ख्याति कमाएको थियो ।

तपाईको प्रतिक्रिया