चितवन- चितवनमा कोरोना भाइरसका संक्रमणको जोखिमलाई मध्यनजर गर्दै कारागारमा कोरोन भाइरसको सङ्क्रमण हुनसक्ने भन्दै भेटघाटमा आउने आफन्तलाई कडाइ गरिएको छ । कारागार कार्यालय भरतपुरका प्रमुख कमलप्रसाद काफ्लेका अनुसार कारागारमा रहेका कैदीबन्दीका आफन्तलाई भेटघाट र प्रवेशमा कडाइ गरिएको हो ।

भेटघाटका लागि दैनिक १०० देखि २०० जनासम्म आउने गरेका छन् । उनीहरुलाई अनिवार्य माक्स लगाउनुपर्ने तथा भेटघाट र कुराकानी गर्दा केही दूरीमा रहेर गर्न आग्रह गरिएको उनले जानकारी दिए । कारागारको क्षमताभन्दा बढी कैदीबन्दी रहेका कारण सङ्क्रमण चाँडो फैलन सक्ने भएकाले कडाइ गरिएको हो ।

२५ महिलाको क्षमता भएको कारागारमा ५६ र चार आश्रित बालबालिका रहेका छन् । यस्तै २५५ जनाको क्षमता रहेको पुरुष बन्दीगृहमा ६८२ जना छन् ।

धेरै जना सानो स्थानमा बस्नुपर्ने बाध्यता भएका कारण सङ्क्रमण भएमा चाँडो फैलने भएकाले कडाइ गर्नुपरेको उनले जानकारी दिए । मौसममा आएको परिवर्तनसँगै अन्य रोगको सङ्क्रमणसमेत बढ्ने खतरा भएको भन्दै उनले कारागारका कैदीबन्दीको स्वास्थ्यलाई मध्यनजर गर्दै भेटघाटका लागि आउनेलाई कडाइ गरिएको बताए ।

तपाईको प्रतिक्रिया