बनेपा- कोरोना भाइरस (कोभिड–१९)को सन्त्रासका कारण आन्तरिक तथा बाह्य पर्यटकको आगमन ठप्प भएपछि यहाँका होटल व्यवसायी संकटमा परेका छन् । काठमाडौँबाट नजिकैको प्राकृतिक सौन्दर्ययुक्त स्थान काभ्रेपलाञ्चोकको धुलिखेल, बल्थली, नगरकोटलगायत आसपासका होटलमा यतिबेला पर्यटकको चहलपहल स्वाट्टै घटेको छ ।

पर्यटकहरुको आगमन घटेपछि व्यवसाय घटेको धुलिखेल नगरपालिका–८ स्थित होटल सारथीका प्रबन्धक अनिल गोर्खालीले बताए । उनका अनुसार अनलाइन र ट्राभल एजेन्सी व्यवसायबाट सञ्चालन भइरहेको होटल धेरै संकटमा परेको छ । “कोरोना भाइरसको उच्च जोखिममा नेपाल रहेको कारण सतर्कता अपनाउन सरकारले सचेत गराएसँगै बुकिङ गरेकाले रद्द गरिरहेका छन्”, उनले भने, “लगभग ८० प्रतिशत बुकिङ रद्द भइसकेको छ ।”

त्यससँगै सरकारले ठूलाठूला कार्यक्रम, सभा, गोष्ठी र ठूला जमघटका कार्यक्रम नगर्न आग्रह गरेसँगै सरकारी, गैरसरकारी सङ्घसंस्थाबाट आउने कार्यक्रमसमेत रद्द भइरहेको उनले बताए ।

पर्यटन प्रवद्र्धनका लागि नेपाल भ्रमण वर्ष २०२० चलिरहेकै बेलामा यसरी कोरोनाको सन्त्रास फलिएसँगै होटल व्यवसायमा ठूलो समस्या निम्तेको उहाँको भनाइ छ । झन पछिल्लो समयमा सरकारले विभिन्न देशका अनअराइभल भिसा बन्द गरेपछि होटल व्यवसाय थप संकटमा परिरहेको उनले बताए । यस्तै अवस्था पछिसम्म रहेको खण्डमा कर्मचारीलाई नै व्यवस्थापन गर्न समस्या आउनसक्ने उनको भनाइ छ ।

धुलिखेल नगरपालिका–३ धुलिखेलमा रहेको मिरावेल रिसोर्टका विष्णुगोपाल राजथलाले कोरोना भाइरसको सन्त्रासका कारण होटल पर्यटन व्यवसायमा धेरै असर पारेको बताए ।

ट्राभल एजेन्सिमार्फत चीन, जापान, जर्मनी, फ्रान्स, इटालीलगायतका देशबाट आउने पाहुना सबैजसो रद्द भइसकेको उनले बताए । “देशभित्रकै विभिन्न सङ्घसंस्थाबाट आउने सेमिनार, दिवा सेमिनारलगायत कार्यक्रमसमेत रद्द भइरहेको छ”, उनले भने, “पहिलाको तुलनामा ४५ प्रतिशत घटेको छ ।”

अहिले पर्यटकका लागि मुख्य समय फेब्रुअरी, मार्च, अप्रिल र मे महिना धेरै उपयुक्त भएको अवस्थामा नै कोरोनाको सन्त्रासले आगमन ठप्प भएपछि समस्यामा पर्दै आएको व्यवसायी बताउँछन् ।

क्षेत्रीय होटल एशोसिएसन नेपालका उपाध्यक्ष तथा मिरावेल होटलका सञ्चालक भोला थापाले द्वन्द्वको लामो समय दलदलमा परेको होटल व्यवसाय पछिल्लो समयमा केही राम्रो हुँदै आएकामा अहिले फेरि कोरोना भाइरसको सन्त्रासले थप मारमा परेको बताए ।

“सरकारले नेपाल भ्रमण वर्ष २०२० को अवधारणा ल्याएपछि अबचाहिँ केही होला कि भनेर उत्साहका साथ होटल व्यवसायलाई थप व्यवस्थित गर्दै लगिरहेका अवस्थामा रहेकै बेला यो सन्त्रासले अर्को संकट नित्याएको छ”, थापाले भने, “धेरै लगानी गरेर व्यवसायलाई आगाडि बढाए तर यो सन्त्रासले गर्दा ठूलो मारमा परेको छ ।”

सरकारले होटल व्यवसाय गर्नेलाई कम ब्याजदरमा ऋण दिने व्यवस्था गरेअनुसार धेरै होटल खोलेको भए पनि अहिले कोरोनाको उच्च जोखिममा रहेको भन्दै विश्व स्वास्थ्य संगठनले सचेत गराएपछि अब लिएको ऋणको ब्याज कसरी तिर्ने भन्ने चिन्तामा होटल व्यवसायी रहेको उनले बताए ।

“कर्मचारीलाई तलबसमेत खुवाउन समस्या उब्जिरहेका बेलामा झन् ब्याज कसरी तिर्ने भन्ने चिन्ताले सताउन थालेको छ”, उनले भने, “यसले अझै लामो समय लिएको खण्डमा होटल व्यवसायीलाई थप समस्या हुनसक्छ त्यसैले सरकारले ऋणको ब्याज तिर्ने अवस्थालाई कम गर्न आवश्यक छ ।”

क्षेत्रीय होटल एशोसिएसन नेपालका सचिव तथा होटल माउन्ट प्रिन्सेजका सञ्चालक ज्योत्सना सैँजुले ८० देखि ९० प्रतिशत बुकिङ रद्द भइसकेको बताए । कोरोना प्रभावका कारण एकातिर कर्मचारीलाई तबल ख्वाउन समस्या र अर्कोतिर लिएको ऋण कसरी तिर्ने भन्ने चिन्ताले व्यवसायीलाई सताउन थालेको उनको भनाइ छ ।

उनका अनुसार काभ्रेपलाञ्चोकको धुलिखेलमा मात्रै साना ठूला गरी ७० वटा होटल सञ्चालन भइरहेका छन् ।

त्यस्तै, अर्को पर्यटकीय गन्तव्य नगरकोटमा कोरोना भाइरस सन्त्रासका कारण होटलमा पर्यटकको आगमन घट्दै गएको जनाइएको छ । नगरकोट नालदुम पर्यटन विकास समितिका प्रवक्ता रोहित मोक्तानका अनुसार नगरकोटमा आउने स्वदेशी तथा विदेशी पर्यटकको आगमन स्वाट्टै घटेको छ ।

“अहिले पछिल्लो समयमा शुक्रबार र शनिबार आन्तरिक पर्यटक आउनेबाहेक विदेशी पर्यटक ठप्प जस्तै भएको छ”, उनले भने, “पहिला नै बुकिङ गरेका जापानी र भारतीय पर्यटकबाहेक अरु ठप्प छन् ।”

सन् २०२० का लागि लामो समयदेखि बुकिङमा रहेका होटल अहिले धमाधम रद्द गरिरहेका कारण होटल व्यवसायीले ठूलो समस्या झेलिरहेको होटल व्यवसायी बताउँछन् । सन्त्रासका कारण जिल्लाका सबैजसो पर्यटकीयस्थलमा रहेका होटल, रिसोर्ट तथा रेस्टुराँ सुनसान बन्दै गएका छन् ।

तपाईको प्रतिक्रिया