चितवन- चितवनमा कोरोना भाइरसका बिरामीलाई उपचारका लागि राख्न भरतपुर अस्पतालमा आइसोलेसन वार्ड विस्तार गरी १९ पु¥याइएको छ ।

अस्पतालमा बिहीबार कोरोना रोग रोकथाम तथा नियन्त्रण समन्वय समितिको बैठकले पाँच शैय्या रहेको आइसोलेसन वार्डलाई १९ शैय्याको बनाउने निर्णयसँगै कार्यान्वयनमा ल्याएको हो ।

अस्पतालमा आएका शंकास्पद बिरामीलाई सेवा दिन शैय्या थप गरिएको बताइएको छ । अस्पतालमा रहेको कोरोना आउट ब्रेक म्यानेजमेन्ट टिमलाई विस्तार गरी १३ सदस्यीय बनाइएको छ ।

अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेन्ट डा श्रीराम तिवारीका अनुसार लक्षण देखिएका बिरामीलाई छुट्टै कक्षमा राखी उपचार गर्ने व्यवस्था मिलाइएको हो ।

पछिल्लो १० दिनदेखि रुघाखोकी तथा ज्वरो आएको दुई हप्ताभित्र कोरोना जोखिमयुक्त देशमा भ्रमण गरेको वा भ्रमण गरेका व्यक्तिसँग भेटघाट भएका व्यक्तिले अस्पतालको २०१ नं कोठाबाट सेवा लिनसक्ने व्यवस्था गरिएको उनले जानकारी दिए ।

यस्तै, अस्पतालले बिहीबार एक शंकास्पद बिरामीको नमूना परीक्षणका लागि पठाएको छ । उपचारका लागि आएका बिरामीको लक्षणका कारण आजै केन्द्रीय प्रयोगशाला पठाइएको तिवारीले जानकारी दिए । यसअघि आएका दुई शंकास्पद बिरामीको नमूना परीक्षणका लागि पठाइएकामा त्यसको नतिजा नेगेटिभ देखिएको थियो ।

तपाईको प्रतिक्रिया