काठमाडौँ । सरकारले कोरोना भाइरस (कोभिड–१९) को सन्त्रासका कारण यस वर्षको वसन्तकालीन मौसमको हिमाल आरोहण रद्द गर्ने निर्णय गरेको छ ।

यस वर्षको वैशाख-जेठमा हुने सगरमाथासहित सबै हिमालको आरोहण रद्द भएको पर्यटन विभागका निर्देशक मीरा आचार्यले जानकारी दिइन् । यस वर्ष विभिन्न हिमाल आरोहणका लागि पाँचवटा समूहले अनुमति लिएका थिए । उनीहरुको अनुमतिसमेत रद्द हुने र थप अनुमति नदिने आचार्यले बताइन् ।

सरकारले ४१४ वटा हिमाल आरोहणका लागि खुला गरेको छ । गएको वर्षको वसन्तकालीन मौसममा विभिन्न ३२ वटा हिमाल आरोहणका लागि ११६ दलका ८९५ जनाले अनुमति लिएका थिए । यस वर्ष पनि त्यही सङ्ख्याको हाराहारीमा आरोहीहरु आउने अनुमान गरिएको व्यवसायीहरुले बताएका थिए ।

तर, कोरोना भाइरसले विश्वव्यापी महामारीको रुप लिएपछि सरकारले यस वर्षको वसन्तकालीन सबै आरोहण रद्द गरेको हो । धेरैजसो पर्वतारोहीहरु अमेरिका, भारत, चीन, बेलायत, जापान र दक्षिण कोरियाबाट आउँछन् ।

सगरमाथा आरोहणका लागि एक जना विदेशी आरोहीले ११ हजार डलर रोयल्टी बुझाउनुपर्छ । अरु हिमालसमेत गरी वसन्तकालीन मौसममा सरकारले वार्षिक ६० करोडको हाराहारीमा रोयल्टीमात्र असुल गर्छ ।

हिमाल आरोहण रद्द हुँदा रोयल्टी शून्यमा झर्छ । रोयल्टीमात्र हैन आरोहण व्यवसाय निकै महँगो व्यवसाय भएकोले आरोहणबाट नेपालको पर्यटन क्षेत्रमा राम्रो आम्दानी भइरहेको अन्नपूर्ण एक्सपिडिसनका कार्यकारी निर्देशक कामी शेर्पा बताउँछन् ।

पर्वतारोहणका लागि एक आरोहीले एकपटकको नेपाल बसाइँमा औसतमा ४० लाख हाराहारी खर्च गर्छन् । सरकारी रोयल्टीदेखि हवाई भाडा, शेर्पा सहयोगी, खाना–बसाइ, होटेल खर्च, उपकरण र अक्सिजनजस्ता आधारभूत आवश्यकताका लागिमात्र त्यो रकम खर्च हुने गरेको शेर्पा बताउँछन् ।

नेपालमा वसन्तकालीन आरोहण सिजनमा मात्र पर्वतारोहण क्षेत्रका कारण तीन अर्बभन्दा धेरैको कारोबार हुने व्यवसायीहरु बताउँछन् ।

कोरोना भाइरसको महामारीले गर्दा पर्वतारोहण व्यवसायबाट भरिया र किसानदेखि पाँचतारे होटलसम्मले फाइदा लिइरहेका छन् । आरोहण रद्द हुँदा यी सबै क्षेत्रमा असर गर्नेछ । पर्यटकको भारी बोक्ने भरिया, हिमाली रुटका होटल, पसल, शेर्पालगायत हिमाल आरोहण सहयोगीहरु नराम्रोसँग प्रभावित हुन्छन् । आरोहणको मौसममा काम गरेर बाँकी समय बिताउनेहरुको रोजीरोटी नै गुम्ने व्यवसायीहरु बताउँछन् ।

अन्नपूर्ण एक्सपिडिसनका कार्यकारी निर्देशक कामी शेर्पा भन्छन्, ‘यसको असर चौतर्फी पर्छ, सिजनका लागि भनेर गरिएको उत्पादनले बजार वा मूल्य पाउँदैन, भरियाहरुले भारी बोक्न पाउँदैनन्, शेर्पाहरुले कामै पाउँदैनन् । त्यस्तै हाम्रा कम्पनी डुब्छन्, हिमाली क्षेत्रमा सिजनमा होटल गरेर आम्दानी गर्नेहरुको आम्दानी ठप्प हुन्छ, काठमाण्डौका होटलदेखि सरकारको राजश्व पनि रोकिन्छ ।’

यतिबेला सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिकाको सगरमाथा क्षेत्रमा चहलपहल सुरु भइसक्नु पर्ने हो । चिसो छल्न खुम्बुबाहिर गएका व्यवसायीहरु फर्किएर होटललगायतका व्यवसाय सुरु गरिसकेका छन् । तर, पर्यटक नपुग्दा सुनसान रहेको छ ।

नाम्चेका होटल व्यवसायी लमाकाजी शेर्पा भन्छन्, ‘खुम्बु पूरै सुनसान छ, यतिबेला त दिनमा ५/७ सय पर्यटक आउनुपर्ने हो तर ५/७ जना आउन पनि मुश्किल छ, होटलहरु पूरै खाली छन्, भारी बोक्ने लगायतका काम खोज्दै आएकाहरु बेखर्ची हुन थालेका छन्, यहाँ त रोगको त्रासभन्दा घर खर्च चलाउने त्रास बढेको छ ।’

खुम्बु क्षेत्रमा रहेका साना ठूला गरी झण्डै तीन हजार होटल पसलहरु दुई मौसममा गरी ६ महिना सञ्चालन हुन्छन् । अझ राम्रो कारोबार हुने वसन्तकालीन मौसममै पर्यटक नपुग्दा व्यवसायी मारमा परेका छन् । सगरमाथा क्षेत्रसँगै अरु हिमालमा जाने रुटका व्यवसायीहरु पनि हिमाल आरोहण रद्द भएपछि समस्यामा परेका छन् । एजेन्सी

तपाईको प्रतिक्रिया