
चितवन- पूर्वी चितवनको खैरहनीमा एक व्यक्ति दिउँसै लुटिएका छन् ।
खैरहनी नगरपालिका ८ पर्साबजार क्षेत्रमा गुल्मीका नारायण घर्तीको नौ लाख रुपैयाँ लुटिएको हो । भरतपुरको रेसुंगा विकास बैंकबाट निकालेको रकम लुटिएको घर्तीले बताएका छन् ।
जग्गा खरिदको लागि खैरहनीकै एक व्यक्तिसँग सम्पर्क भएअनुसार घर्ती र उनका साथमा पदम घर्ती रकम लिएर खैरहनी आएका थिए ।
उनले जनाएअनुसार उक्त रकम लिएर खैरहनी पुग्दा दुईजना व्यक्ति आएर रकम लिएर लगत्तै भागेको पदम घर्तीले बताए । घटनाको विषयमा अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय खैरहनीका प्रहरी निरीक्षक ऋषिराम घर्तीमगरले जानकारी दिए ।