चितवन । पूर्वी चितवनको रत्ननगर नगरपालिकाभित्र नौ महिनादेखि पाँच वर्षमुनिका बालबालिकालाई दादुरा र रुवेलाविरुद्धको खोप लगाउन यही चैत २ गतेदेखि खोप अभियान सञ्चालन हुने भएको छ ।

पहिलो चरणमा वडा नं १ देखि ४ सम्मका बालबालिकालाई खोप लगाउन केन्द्र निर्धारण गरिएको छ । यो अभियान चैत २ गतेदेखि ९ गतेसम्म सञ्चालन हुने नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख माधवप्रसाद पौडेलले बताए ।

उनका अनुसार पाँच् वर्षसम्मका बालबालिकाहरुलाई अनिवार्य खोप लगाउनेगरी वडा नं १ मा चैत २ गते वडा कार्यालय भवन र भक्तिनीबगैँचास्थित दुर्गा मन्दिर परिसरमा केन्द्र निर्धारण गरिएको छ ।

यस्तै, चैत ३ गते वडा नं १ कै वडा कार्यालय र ओमशान्ति पाठशाला, ४ र ५ गते वडा नं ३ शान्तिचोकस्थित वडा कार्यालय, ६ गते वडा नं ४ स्थित देवौली स्कुल र सेरी गाउँ, ७ गते वडा नं ४ कै वडा कार्यालय तथा कुमालटार, ८ गते वडा नं २ को दुर्गा मन्दिर, नेपाल मावि र ९ गते सोही वडाको रत्ननगर रेडक्रस र रत्ननगर अस्पतालमा केन्द्र निर्धारण गरिएको छ ।

खोप लगाउन सम्बन्धित वडाका स्वास्थ्यकर्मी र महिला स्वास्थ्य स्वयंसेविका परिचालन गरिएको छ । खोप अभियान बिहान १ बजेदेखि ४ बजेसम्म केन्द्रमा अनिवार्यरुपमा बालबालिकालाई लिएर आउन अनुरोध गरिएको रत्ननगर १ की महिला स्वास्थ्य स्वयंसेविका मीना पौडेलले बताइन् ।

उनले नौ महिनाको शिशुदेखि ५९ महिनाका बालबालिकालाई खोप केन्द्रमा ल्याउन अनुरोधसहित निमन्त्रणा कार्डसहित अभिभावकहरुलाई जानकारी गराएकी छन् ।

तपाईको प्रतिक्रिया