चितवन । चितवनका दुग्ध उत्पादक कृषकहरुलाई बागमती प्रदेश सरकारले उत्पादनका आधारमा प्रतिलिटर दूधमा अनुदान दिने भएको छ ।

दुग्ध उत्पादक कृषकलाई प्रतिलिटर दूधमा एक रुपैयाँ अनुदान दिनेगरी पशुपक्षी तथा मत्स्य विकास निर्देशनालय हेटौँडा र दुग्ध उत्पादक सहकारी संस्थाबीच सम्झौता भएको छ ।

सम्झौताअनुसार जिल्लाका ८४ वटा दुग्ध उत्पादक सहकारी संस्थालाई अनुदान दिइने निर्देशनालयकी पशु विकास अधिकृत डाक्टर सुजिता ज्ञवालीले बताइन् । मंगलबार सम्झौता गर्दा केही सहकारी संस्थाहरु छुटेकाले ती संस्थाहरुलाई मापदण्ड पूरा गरी आवदेन दिनका लागि बुधबारदेखि १५ दिने सूचनासमेत जारी गरिने उनले बताइन् ।

प्रतिलिटर दूधमा अनुदान दिँदा कृषकहरुलाई प्रत्यक्ष लाभ मिल्ने, अनुदानको दुरुपयोग नहुने, काम गर्ने कृषकलाई प्रोत्साहन हुने चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघका सचिव किशोर बगालेले बताए ।

चितवनमा प्रतिदिन तीन लाख लिटर दूध उत्पादन हुँदै आएकोमा ५५ प्रतिशत दूध जिल्लाभित्र नै खपत हुँदै आएको छ । कार्यक्रममा केन्द्रीय दुग्ध उत्पादक सहकारी संघका केन्द्रीय सदस्य बालकृष्ण उप्रेती, चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघका अध्यक्ष रत्नमणि न्यौपानेलगायतले मन्तव्य राखेका थिए ।

तपाईको प्रतिक्रिया