
काठमाडौँ- नेपालमा परिवार नियोजनको विकास र प्रर्वद्धनमा लामो इतिहास बोकेको क्षेत्रपाटी परिवार कल्याण केन्द्रले पुरुष बन्ध्याकरण सेवा पुनः सुरु गरेको छ । डा. जेस्मीन श्रेष्ठको नेतृत्वको टिमले बिहीबारदेखि सेवा सुरु गरेको हो । संस्था क्षेत्रपाटीस्थित आफ्नो पुरानो स्थानबाट डल्लु आवासको नयाँ भवनमा सरेपछि केही समयको लागि सेवा बन्द भएको थियो ।
बिहीबार सेवा लिन लाएका सेवाग्राहीहरुले चिकित्सक तथा स्वास्थकर्मीहरुबाट परिवार नियोजन र पुरुष बन्ध्याकरणसम्बन्धी उचित परामर्श पाएको बताए । आफ्नो मनका भएका प्रश्नहरुका बारेका भरपर्दो सल्लाह सुझाव पाएर आफूहरुमा निर्धक्क हुन सकेको उनीहरुले बताए ।
स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा.जेस्मीन श्रेष्ठले सन्तानको इच्छा पुगिसकेका दम्पतीका लागि पुरुष बन्ध्याकरण अति प्रभावकारी र सुरक्षित विधि भएको बताइन् । यो विधिमा शुक्रकिट लैजाने नलीलाई बाँधेर काटिन्छ जसले गर्दा शुक्रकिट वीर्यमा मिसिन पाउँदैन । तर, यो विधि तुरुन्तै प्रभावकारी नहुने भएकोले ३ महिनासम्म कण्डमको प्रयोग गर्न वा अन्य प्रभावकारी साधन लिन जरुरी रहेको उनले बताइन् ।
डा. श्रेष्ठका अनुसार हाल क्षेत्रपाटीमा सुरु गरिएको सेवालाई नन–स्क्याल्पल भ्यासेक्टोमी भनिन्छ । जसमा ब्लेडले नकाटी शल्यक्रिया गरिन्छ । यस विधिमा दुखेको कम गर्ने सुई लगाइन्छ र पुरुष होसमा नै हुन्छन् । शल्यक्रिया गरेको केही समयमा नै सेवागाह्री घर जान सक्छन् ।
क्षेत्रपाटी परिवार कल्याण केन्दमा पुरुष बन्ध्याकरणबाहेक परिवार नियोजनका सम्पूर्ण अस्थायी साधनहरु पनि उपलब्ध भएको नर्सिङ इन्चार्ज शान्ता घिमिरेले बताइन् । स्वास्थ्यकर्मीको परामर्शसहित पिल्स चक्की, तीन महिने सुई, पाखुरामा राखिने इम्प्लान्ट, पाठेघरमा राखिने कपर–टी आदि साधनहरुको लागि पनि सेवाग्राहीहरुको लागि केन्द्र भरपर्दो संस्था बनेको छ ।
राष्ट्रिय खोप तालिकाअनुसार नवजात शिशुको लागि चाहिने सम्पूर्ण खोपहरु र गर्भवती आमालाई चाहिने आइरन चक्की, जुकाको औषधि र खोपहरु केन्द्रले निःशुल्क प्रदान गर्दै आएको छ ।
गर्भवती महिलाको नियतिम जाँच तथा स्त्री रोग र प्रसूति, पाठेघरको मुखको क्यान्सरको लागि भिआइए परीक्षणलगायत अन्य स्वास्थ्यसम्बन्धी समस्याहरूको लागि डा. श्रेष्ठको नेतृत्वमा डा. उदेश पाण्डेसहितको टिमले ओपिडी सेवा, ल्याब, अल्ट्रासोनोग्राफी (भिडियो एक्सरे) जस्ता सेवा नियमितरुपमा सञ्चालन भइरहेकोले सम्पूर्ण सेवाहरुबाट फाइदा लिन डा. पाण्डेले आह्वान गरेका छन् ।
त्यस्तै, स्वास्थ्यकर्मीहरुको सीप विकासको लागि परिवार नियोजनसम्बन्धी विभिन्न तालिमहरु पनि नियमितरुपमा यस संस्थामा सञ्चालन हुने गरेको छ । छिटै नै महिला बन्ध्याकरण सेवा पनि सुरु गर्ने तयारीमा रहेको जानकारी डा. श्रेष्ठले दिइन् ।
क्षेत्रपाटी परिवार कल्याण केन्द्रको नयाँ भवन डल्लु आवास क्षेत्रमा, डल्लु पुलबाट स्वयम्भुतर्फ जाने बाटोमा लगभग २०० मिटरको दूरीमा रहेको छ । सेवाग्राहीहरुले सम्पर्कको लागि फोन नं ०१–४२७९९१८ मा सम्पक राख्न सक्ने छन् ।