चितवन- पूर्वी चितवनको रत्ननगरमा सञ्चालित बाल संरक्षण तथा बालश्रम न्यूनीकरण कार्यक्रमको शनिबार अनुगमन गरिएको छ ।

रत्ननगर नगरपालिका र युनिसेफ नेपालको सहकार्यमा रत्ननगर उद्योग वाणिज्य संघद्वारा सञ्चालित सो कार्यक्रमबाट हालसम्म भए गरेका गतिविधिहरुको अनुगमन गरिएको हो । रत्ननगरको वडा नं २, ७, ८, १४ लगायतका विभिन्न वडामा बालश्रम न्यूनीकरणमा भएका गतिविधि र कार्यहरुको अनुगमन गरिएको थियो । अनुगमनका क्रममा नगरपालिका क्षेत्रका ६८८ जना बालबालिकाहरुलाई बालश्रमबाट मुक्त गरिएको जानकारी दिइयो ।

रत्ननगर क्षेत्रमा भेटिएका ९६३ जना बालश्रमिकमध्ये ६८८ जनालाई बालश्रममुक्त गरिएको छ । सन् २०२० भित्र रत्ननगर नगरपालिकालाई बालश्रममुक्त घोषणा गर्ने लक्ष्यसहित यहाँ गरिएको सर्वेक्षणमा सो तथ्य भेटिएको रत्ननगर उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष राजाराम रेग्मीले जानकारी दिए ।

६८८ जना बालश्रमिकमध्ये १३० जनालाई व्यावसायिक तालिम, २०५ जनालाई विद्यालय निरन्तरताका लागि शैक्षिक सामग्री, २४० जनालाई मनोपरामर्शसहित पारिवारिक पुनर्मिलन, १०३ जनालाई आयआर्जनमा सहयोग र १० जनालाई व्यवसाय गर्ने किसिमका कार्यक्रम गरिएको संघका अध्यक्ष रेग्मीले बताए ।

रत्ननगरमा श्रम न्यूनीकरणका कार्यक्रम सञ्चालन गरिएकाले हाल २७५ जना बालश्रमिक रहेका छन् । रत्ननगर स्थायी घर भएकाभन्दा पनि अन्य जिल्ला मकवानपुर, धादिङ, गोरखा र भारतमा श्रमिक धेरै रहेको रत्ननगर नगरपालिकाका मेयर नारायण वनले बताए । नगरपालिकाका मात्रै श्रमिक भए तत्काल समाधान गर्न सकिने र बाहिरी जिल्ला तथा स्थानीय निकायका समेत श्रमिक हुँदा समयमा न्यूनीकरण गर्न नसकिएको मेयर वनको भनाइ छ ।

नगरपालिकाभित्र हालसम्म ६ वटा वडा बालमैत्री वडा घोषणा भइसकेका छन् । सन् २०२० सम्ममा १६ वटै वडा बालश्रममुक्त घोषणा गर्ने योजना छ । रत्ननगर नगरस्तरीय बाल क्लबकी अध्यक्ष रोनिशा घिमिरेका अनुसार बालबालिकाहरुमा नैतिक शिक्षाको कमी देखिएको छ । उनले घोषणा गरेका वडामा बालबालिकाहरुलाई नैतिक शिक्षा दिन सकेमात्रै पनि अभियानले सर्थकता पाउने बताउँछिन् ।

हालसम्म रन्तनगर नगरपालिकाभित्र वडा नम्बर ३, ५, १०, १४, १५ र १६ नम्बर वडालाई बालमैत्री वडा घोषणा गरिएको छ । कानुन अनुसार १४
वर्षमुनिका बालबालिकालाई कुनै पनि श्रममा तथा १४ देखि १८ वर्षसम्मका बालबालिकालाई निकृष्ट काममा लगाउन पाइँदैन ।

सो अनुगमनमा रत्ननगर नगरपालिकाका नगर प्रमुख नारायण वन, रत्ननगर उद्योग वाणिज्य संघका अध्यक्ष राजाराम रेग्मी, नगरपालिकाका शिक्षा शाखा प्रमुख बद्रीनारायण भट्टराई, सामाजिक विकास समितिका संयोजक एवम् वडा नं १० का वडाध्यक्ष केशव आचार्य, नगर बाल सञ्जालकी अध्यक्ष रोनिशशा घिमिरे, बाल संरक्षण तथा बालश्रम न्यूनीकरण कार्यक्रमका सम्पर्क व्यक्ति विश्वास श्रेष्ठलगायतको सहभागिता थियो ।

अनुगमनका क्रममा विभिन्न वडाहरुमा सो संस्थाले आयआर्जन, सीपमूलक कार्यक्रम र शिक्षा क्षेत्रमा गरेको सहयोग तथा लगानीको अनुगमन गरिएको थियो । विभिन्न बस्तीमा बाख्रापालन, किराना व्यवसाय, सिलाइकटाइ लगायतका क्षेत्रमा संस्थाले गरेको लगानीबाट स्थानीयले आयआर्जन र स्वरोजगारीमा लागेको पाइएको थियो ।

तपाईको प्रतिक्रिया